कांग्रेस १५औँ महाधिवेशनमा शोभा अधिकारीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
संघर्ष, प्राज्ञिक साधना र दृढ नेतृत्व: नेतृ शोभा अधिकारीको प्रेरणादायी पाइला!
काठमाडौं/गोरखा — राजनीति, साहित्य र उच्च प्राज्ञिक साधनाको एक बेजोड संगम बनेर उदाएकी युवा नेतृ शोभा अधिकारीले नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँको यो उम्मेदवारी केवल एउटा राजनीतिक कदम मात्र होइन, यो नेपाली राजनीतिमा प्राज्ञिक ज्ञान, महिला सबलीकरण र निस्वार्थ निष्ठाको राजनीति स्थापित गर्ने एक ऐतिहासिक प्रेरणा हो!
लामो समयदेखि नेपाली कांग्रेसको राजनीति, साहित्य र प्राज्ञिक क्षेत्रमा समर्पित अधिकारीलाई नेपाली कांग्रेस गोरखाले १५औँ महाधिवेशनका लागि सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरेको छ। यसअघि उहाँले नेपाली कांग्रेस गण्डकी प्रदेशको निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि विभाग प्रमुख तथा गोरखाकी महासमिति सदस्यको रूपमा उत्कृष्ट नेतृत्व कुशलता प्रदर्शन गरिसक्नुभएको छ।
अधिकारीको यो प्रेरणादायी राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै अहोरात्र खट्दै सुरु भएको हो। उहाँले नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सदस्यका रूपमा तीन–तीन कार्यकालसम्म जिम्मेवारी सम्हाल्दै आफ्नो नेतृत्व क्षमता प्रमाणित गर्नुभएको छ। विद्यार्थी राजनीतिका स्वर्णिम कालखण्डमा कांग्रेसका वर्तमान शिर्ष नेतृत्वसँगै काँधमा काँध मिलाएर उहाँले संघर्ष गर्नुभएको थियो।
विशेष गरी, कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा नेविसंघको अध्यक्ष रहँदा उहाँ पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को उपसभापति हुनुहुन्थ्यो। त्यस्तै, कांग्रेस महामन्त्री गुरुराज घिमिरे नेविसंघको केन्द्रीय अध्यक्ष रहँदा उहाँ सोही समितिको केन्द्रीय सदस्य हुनुहुन्थ्यो, जहाँ वर्तमान सभापति गगनकुमार थापा महामन्त्री र युवा नेता महामन्त्री प्रदीप पौडेल उपाध्यक्ष हुनुहुन्थ्यो। यही बलियो वैचारिक पृष्ठभूमिबाट खारिएर उहाँ गोरखा कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।
राजनीतिक सक्रियताका बाबजुद अध्ययन, अध्यापन र लेखनमा कहिल्यै पछि नपर्नुभएकी अधिकारीले व्यवस्थापन संकायमा एमबीएस तथा समाजशास्त्र/मानवशास्त्रमा एमए पूरा गर्नुभएको छ भने हाल त्रिभुवन विश्वविद्यालयबाट पीएचडी अध्ययनरत हुनुहुन्छ। लामो समय कलेजमा प्राध्यापन गरेर सयौं विद्यार्थीहरूलाई ज्ञानको ज्योति छर्नुभएकी उहाँ बौद्धिक र प्रयोगात्मक नेतृत्वको गतिलो उदाहरण हुनुहुन्छ।
विसं २०५७ सालदेखि अविराम रूपमा लेखन तथा प्रशिक्षण क्षेत्रमा सक्रिय उहाँ नेपाली लेखक संघकी केन्द्रीय सदस्य हुनुहुन्छ। समसामयिक राजनीति, समाज, संस्कृति र साहित्यसम्बन्धी उहाँका ७०० भन्दा बढी लेख–रचनाहरू राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित छन्। साथै, उहाँका ‘आमाको आँखा’ लघुकथा संग्रह र ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ जस्ता प्रेरणात्मक पुस्तकहरूले समाजलाई सकारात्मक ऊजा र मार्गदर्शन दिइरहेका छन्।
उहाँको यो अटुट लोकतान्त्रिक निष्ठाको पछाडि गहिरो पारिवारिक पृष्ठभूमि पनि जोडिएको छ। पञ्चायतकालमा लोकतन्त्रका पक्षमा अडा अडिग भएर लाग्दा निर्वासन जीवन बिताउनुपरेका तथा सर्वस्वहरणमा परेका तेह्रथुमका स्वर्गीय हरिप्रसाद दाहालको परिवारसँग उहाँको पारिवारिक सम्बन्ध रहेको छ, जसले उहाँको रगतमा लोकतन्त्रप्रतिको अगाध प्रेम र त्यागको भावना भरेको छ।
राजनीति, साहित्य र प्राज्ञिक क्षेत्रको यो लामो अनुभवलाई पार्टीको केन्द्रीय तहमा पुर्याएर अझ प्रभावकारी रूपमा देश र जनताको सेवा गर्ने उद्देश्यले उहाँले यो साहसिक कदम चाल्नुभएको छ। नेतृ शोभा अधिकारीको यो उम्मेदवारीले आगामी महाधिवेशनमा महिला, युवा र प्राज्ञिक क्षेत्रको सशक्त प्रतिनिधित्वको ढोका खोलेको छ र हरेक संघर्षशील नारीहरूका लागि एउटा उज्यालो नमुना पेस गरेको छ।



प्रतिकृया दिनुहोस्