सुस्ता गाउँ जलमग्न: १६५ घरमा बाढी पस्दा पनि घर छाड्न मानेनन् स्थानीयले, उद्धारमा कठिनाइ

सुस्ता गाउँ जलमग्न: १६५ घरमा बाढी पस्दा पनि घर छाड्न मानेनन् स्थानीयले, उद्धारमा कठिनाइ

नवलपुर, पश्चिम नवलपरासीको अति जोखिमयुक्त मानिने सुस्ता गाउँ नारायणी नदीमा आएको भिषण बाढीका कारण जलमग्न भएको छ। गाउँपालिकाको वडा नम्बर ५ मा रहेका करिब १६५ घरधुरीमा बाढीको पानी पसेपछि स्थानीयको जनजीवन अस्तव्यस्त बनेको छ।

बाढी घरभित्रै पसेपछि उद्धार टोलीले घरमा फसेका २१ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ। हाल विस्थापितहरूलाई गाउँमै रहेको दुई तले आश्रयस्थलमा राखिएको छ। तर, आश्रयस्थल भवन पूर्ण रूपमा भरिएकाले र नारायणी नदीमा जलसतह अझै बढ्दो क्रममा रहेकाले उनीहरूलाई झोलुङ्गे पुलमार्फत नदी वारिका विद्यालयहरूमा सार्ने तयारी भइरहेको छ।

स्थानीय प्रशासन, जनप्रतिनिधि र सुरक्षा निकायले सुस्तावासीलाई सुरक्षित स्थान (वारि) आउन आग्रह गरे पनि पानीको सतह घट्ने आशामा धेरैजसो स्थानीय घर र गाउँ छोड्न मानिरहेका छैनन्। यस वर्ष नारायणी नदीको मुख्य धार सुस्ता गाउँतर्फ सोझिएकाले तटीय क्षेत्र थप उच्च जोखिममा परेको छ।