नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) को नेतृत्व दौडमा कुणाल केयाल र करण चौधरी

नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की) को नेतृत्व दौडमा कुणाल केयाल र करण चौधरी

काठमाडौँ, यही असोज महिनाको २९ गते नेपाल-भारत उद्योग वाणिज्य संघको ३२औँ साधारण सभा हुँदैछ। उक्त साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति पनि निर्वाचित गर्दैछ।

सम्भवतः यसपटक संघको नेतृत्वका लागि दुई सदस्यले अध्यक्ष पदमा दाबी प्रस्तुत गर्दैछन्। अध्यक्ष पदका लागि (वर्तमान उपाध्यक्ष) कुणाल कयाल र (कार्यसमिति सदस्य) करण चौधरीबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ।

संघको निर्वाचन तालिका अनुसार असोजको २१ गते १ अध्यक्ष तथा ९ सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।

नेपाल-भारत उद्योग वाणिज्य संघको स्थापना वि.सं. २०४९ मा तदर्थ समितिबाट भई २०५१ सालमा विधिवत रूपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रूपमा दर्ता भएको हो। यस संस्थाले नेपाल र भारतबीच औद्योगिक, व्यापारिक तथा लगानी प्रवर्द्धनका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको छ।

यदि यसपटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएमा संघको ३३ वर्षको इतिहासमा यो दोस्रोपटक हुनेछ। यसभन्दा अघि संघको २२औँ साधारणसभाको समयमा पनि निर्वाचन प्रक्रियाबाट शौर्य शमशेर ज.ब.राणा अध्यक्षमा निर्वाचित भएका थिए।

अध्यक्ष पदका सम्भावित दाबेदारहरू नेपालका प्रतिष्ठित औद्योगिक तथा व्यापारिक समूहका प्रतिनिधि हुन्। कुणाल केयाल वीरगन्जस्थित केयाल ग्रुपका निर्देशक हुन् भने करण चौधरी सीजी होल्डिंग्स (चौधरी ग्रुप) का प्रबन्ध निर्देशक हुन्।