एमाले महाधिवेशन: प्रतिनिधि सूची टुङ्गो, तयारी तीव्र, देशभरि उत्साह

एमाले महाधिवेशन: प्रतिनिधि सूची टुङ्गो, तयारी तीव्र, देशभरि उत्साह

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढेको छ। पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज महासचिव शङ्कर पोखरेलसहितका शीर्ष नेताहरूबीच महाधिवेशन व्यवस्थापन र तयारीबारे छलफल भएको छ।

बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू, विभागीय प्रमुखहरू, स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरूको उपस्थिती रहेको थियो।

केन्द्रीय संगठन विभागले जिल्ला र प्रवासबाट प्राप्त प्रतिनिधिको अन्तिम सूची तयार गर्ने काम गरिरहेको छ। गत मङ्सिर १३ गते सबै मातहतका कमिटी र जनसङ्गठनमा देखिएका विवाद समाधान भएपछि प्रतिनिधि सूची चाँडै टुङ्गो लाग्ने जनाइएको छ। ओखलढुङ्गा र धनकुटा बाहेक देशभरका अन्य जिल्लाका प्रतिनिधि सूची तयार भइसकेको छ।

उपमहासचिव ज्ञवालीले बैठकपछि भने, “महाधिवेशनका तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेका छन्। करिब २४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान छ, जसले पार्टी नेतृत्वसम्बन्धी महत्त्वपूर्ण निर्णयमा भूमिका खेल्नेछन्।”

महाधिवेशन यही मङ्सिर २७ मा भक्तपुरको सल्लाघारीमा आयोजना हुने कार्यक्रम तय गरिएको छ। देशभरका प्रदेश, जिल्ला, जनसंगठन र मोर्चा संगठनका प्रतिनिधिहरू सहभागी हुने यस महाधिवेशनले आगामी पार्टी नेतृत्व र रणनीतिमा निर्णायक भूमिका खेल्ने देखिन्छ।