सुनसरी, झापा र चितवनबाट ५ लाखभन्दा बढी नगदसहित २० जना जुवाडे पक्राउ

सुनसरी, झापा र चितवनबाट ५ लाखभन्दा बढी नगदसहित २० जना जुवाडे पक्राउ

काठमाडौँ, देशका विभिन्न स्थानमा जुवातास नियन्त्रण अभियानलाई तीव्र बनाएको प्रहरीले सुनसरी, झापा र चितवनका छुट्टाछुट्टै स्थानबाट २० जनालाई ठूलो रकम र तासबुकसहित पक्राउ गरेको छ।

पहिलो घटनामा, सुनसरीको इटहरी उपमहानगरपालिका-१८ नयाँटोलबाट जुवातास खेलिरहेको अवस्थामा सप्तरी सप्तकोशी नगरपालिका-२ सिद्धिपुर बस्ने ४० वर्षीय बिश्वास थापा मगरसमेत ५ जनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ७१ हजार १० रूपैयाँ र ३ बुक तासबुकसहित नियन्त्रणमा लिएको हो।

दोस्रो घटनामा, झापाको अर्जुनधारा नगरपालिका-५ ओमचोक बस्ने ५५ वर्षीय सिताराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी सितारामसमेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नगद १ लाख २२ हजार ६ सय ८० रूपैयाँ र २ बुक तास बरामद गरेको छ।

त्यसैगरी तेस्रो घटनामा, चितवनको रत्ननगर नगरपालिका-१० बगैंचा टोल बस्ने ४५ वर्षीय धन कुमार तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख १० हजार २ सय ५५ रूपैयाँ र १ बुक तासबुकसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सबैजनामाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूबाट आवश्यक अनुसन्धान भइरहेको छ।