जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ: लाखौँ नगद र तास बरामद!

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ: लाखौँ नगद र तास बरामद!

काठमाडौँ, देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एकै रात १९ जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएका प्रहरी टोलीले पर्सा र बाँकेका दुई फरक-फरक स्थानबाट उनीहरूलाई नगद र ताससहित पक्राउ गरेको हो।

पहिलो घटनामा, पर्साको वीरगञ्ज महानगरपालिका-११ रानीघाटबाट जुवा खेलिरहेका ७ जना पक्राउ परेका छन्। स्थानीय ३७ वर्षीय लखन साह कानुसहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार राति रंगेहात नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट नगद ९७ हजार ९ सय ९५ रूपैयाँ र २ बुक तास बरामद गरेको छ।

त्यस्तै दोस्रो घटनामा, बाँकेको खजुरा गाउँपालिका-७ सोनबर्षाबाट १२ जना जुवाडे पक्राउ परेका छन्। जानकी गाउँपालिका-३ इन्द्रपुर बस्ने ३४ वर्षीय अर्जुन कुमारसहित १२ जनालाई इलाका प्रहरी कार्यालय धनेलीको टोलीले सोमबार राति नै पक्राउ गरेको हो। उनीहरूको खालबाट नगद ५७ हजार ४ सय ७० रूपैयाँ र २ बुक तास बरामद गरिएको छ।

दुवै स्थानबाट पक्राउ परेका कुल १९ जनामाथि मुलुकी अपराध संहिता बमोजिम जुवा ऐनअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।