गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सल्लेरी बजार र हाइड्रोपावरको क्याम्प बगायो, बस्ती जोखिममा!

गोरखामा बूढीगण्डकीको भीषण ताण्डव: सल्लेरी बजार र हाइड्रोपावरको क्याम्प बगायो, बस्ती जोखिममा!

सुलीकोट (गोरखा), २५ असोज — बूढीगण्डकी नदीमा आएको लेदोसहितको विनाशकारी बाढीले गोरखाको सल्लेरी बजार क्षेत्र र जलविद्युत् आयोजनाको क्याम्प पूर्ण रूपमा बगाएको छ। आइतबार बिहान साढे ४ बजेतिर ठूलो आवाजसहित आएको भेलले बजारका भौतिक संरचना र हाइड्रोपावरका क्याम्पहरू बगाएपछि तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ।

स्यारखोलातर्फबाट उर्लेर आएको बाढीले जगत, सल्लेरी तथा नदी आसपासका थुप्रै घरहरू बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभएको छ। एकाबिहानै विकराल रूपमा बाढी आएपछि लोक्पासहित आसपासका बासिन्दाहरू ज्यान जोगाउन भागभाग गर्न बाध्य भएका थिए। नदी थुनिँदै र खुल्दै बहने क्रम जारी रहेकाले तटीय बस्तीहरूमा उच्च जोखिम र त्रास फैलिएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत अनुगमन गरी क्षतिको यकिन विवरण संकलन गर्ने र पीडितहरूको उद्धार तथा राहतका लागि पहल भइरहेको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक कदम चालिँदै छ।

सम्भावित ठूलो जोखिमलाई मध्यनजर गर्दै प्रहरीले नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दाहरूलाई सुरक्षित र उच्च स्थानतर्फ सारेको छ। प्रशासनले नदी तटीय क्षेत्रका सम्पूर्ण नागरिकहरूलाई उच्च सजगता अपनाउन अपिल गरेको छ।