आमाको सपना, छोरीको नेतृत्व’ : गृह श्रमिकको सम्मान र अधिकारका लागि प्रभा पोखरेलको अथक अभियान
काठमाडौं। समाज परिवर्तनको इतिहास प्रायः साना प्रयासबाट सुरु हुन्छ। त्यस्तै एउटा प्रयास, जसले हजारौं गृह श्रमिक महिलाको जीवनमा आशाको किरण जगाएको छ, त्यो हो गृह श्रमिक सरोकार समाज नेपाल (Home Based Workers Concern Society Nepal – HBWCSN)। वि.सं. २०५८ सालमा स्थापित यो संस्था आज गृह श्रमिकहरूको अधिकार, पहिचान, सामाजिक सुरक्षा, सीप विकास र आर्थिक सशक्तीकरणका क्षेत्रमा अग्रणी संस्थाका रूपमा परिचित छ।
यस संस्थाको स्थापना संस्थापक अध्यक्ष स्वर्गीय प्रतिमा पोखरेलले गर्नुभएको थियो। सानो समूहबाट सुरु भएको अभियान आज राष्ट्रिय स्तरको श्रमिक अधिकार आन्दोलनमा रूपान्तरण भएको छ। यसको यात्रा सुनसरीको धरानबाट सुरु भएर काठमाडौं हुँदै देशभर विस्तार भएको छ।
प्रतिमा पोखरेल संखुवासभाकी चेली हुनुहुन्थ्यो। विवाहपछि सुनसरी पुगेर आफूले अध्ययन गरेको विद्यालयमै प्रधानाध्यापक बन्नुभएको थियो।
प्रधानाध्यापकका रूपमा कार्यरत रहँदा उहाँले एउटा यथार्थ देख्नुभयो। परीक्षा जस्तो महत्वपूर्ण समयमा समेत विद्यालयका केही विद्यार्थी नियमित अनुपस्थित हुने गर्थे। कारण बुझ्न घरमा पुग्दा ती विद्यार्थीहरू हस्तकला, सिलाइ, बुनाइ तथा विभिन्न सामग्री उत्पादन गर्ने काममा व्यस्त रहेको देख्नुभयो।
जब उहाँले विद्यार्थीसँग कारण सोध्नुभयो, उनीहरूको जवाफ निकै मार्मिक थियो—
“अर्डरको सामान समयमा नबुझाए घरमा खाना खान पाइँदैन।”
त्यही क्षण प्रतिमा पोखरेलले महसुस गर्नुभयो कि समस्या केवल विद्यार्थीको होइन, उनीहरूको परिवार, विशेष गरी घरमै बसेर श्रम गर्ने आमाहरूको हो। त्यसपछि उहाँले ती महिलाहरूलाई संगठित गरी उनीहरूको अधिकार, सम्मान र जीविकोपार्जनका लागि अभियान सुरु गर्नुभयो। यही सोचले गृह श्रमिक सरोकार समाज नेपालको जन्म भयो।
प्रतिमा पोखरेलको नेतृत्वमा सुरु भएको अभियान काठमाडौं आएपछि थप विस्तार भयो। विभिन्न जिल्लामा शाखा स्थापना हुँदै गृह श्रमिकहरूलाई संगठित गर्ने कार्य तीव्र रूपमा अघि बढ्यो।
संस्थापक अध्यक्ष स्वर्गीय प्रतिमा पोखरेल अस्वस्थ हुनुभएपछि सुरुमा बिना पौडेलले र त्यसपछि प्रभा पोखरेलले संस्थाको नेतृत्व सम्हाल्दै आउनुभएको छ। उहाँले स्वर्गीय प्रतिमा पोखरेलले अघि बढाउनुभएको महिला सशक्तीकरणको उद्देश्यलाई निरन्तरता दिँदै संस्थालाई सफलतापूर्वक अगाडि बढाइरहनुभएको छ।
प्रभा पोखरेलका अनुसार, जीवनको अन्तिम समयसम्म पनि उहाँकी आमा गृह श्रमिक महिलाको उत्थानका लागि चिन्तित हुनुहुन्थ्यो। यसै करण आमा को निधन अघिनै संस्था निरन्तर अघि बढाउने वचनआफुले आमाँ लाई दिएकाले त्यो वचनलाई आज कर्ममार्फत निभाइरहनुभएको छ।
प्रभा पोखरेलको नेतृत्वमा संस्था अझ व्यवस्थित, प्रभावकारी र राष्ट्रिय स्तरमा सक्रिय बन्दै गएको छ। गृह श्रमिक महिलाहरूलाई संगठित गर्ने, उनीहरूलाई सीप, बजार, वित्तीय पहुँच, सामाजिक सुरक्षा तथा कानुनी अधिकारसँग जोड्ने अभियानलाई उहाँले निरन्तरता दिनुभएको छ।
संस्थाको उद्देश्य केवल आयआर्जनमा सीमित छैन, बरु गृह श्रमिकलाई ‘अदृश्य श्रमिक’बाट ‘अधिकार प्राप्त श्रमिक’ बनाउने अभियान हो।
गृह श्रमिक को हुन्?
गृह श्रमिक भनेका आफ्नै घर वा रोजेको स्थानबाट रोजगारदाताको कार्यस्थल बाहिर बसेर सामान उत्पादन वा सेवा प्रदान गर्ने श्रमिक हुन्। उनीहरू सिलाइ, बुनाइ, हस्तकला, ढाका, अगरबत्ती, खाद्य सामग्री, सौन्दर्य सेवा, होमस्टे लगायतका विभिन्न उत्पादन तथा सेवामा संलग्न हुन्छन्।
संस्थाले प्रकाशन गरेको जानकारीअनुसार गृह श्रमिक र घरेलु श्रमिक फरक हुन्। गृह श्रमिकले आफ्नै घर वा रोजेको स्थानबाट उत्पादन तथा सेवा दिन्छन् भने घरेलु श्रमिक रोजगारदाताको घरमा गएर सेवा प्रदान गर्छन्।
संस्थाले हालसम्म विभिन्न जिल्लामा हजारौं गृह श्रमिकको अवस्था दस्तावेजीकरण गरेको, सयौं समूह गठन गरेको, सहकारीमार्फत आर्थिक सशक्तीकरण अघि बढाएको तथा हजारौं महिलालाई सीप विकास, उद्यमशीलता, वित्तीय पहुँच, बजार व्यवस्थापन र नेतृत्व विकासका कार्यक्रममा सहभागी गराएको जनाएको छ।
साथै सामाजिक सुरक्षा, श्रमिक अधिकार, नीति निर्माण तथा कानुनी मान्यताका लागि सरकारसँग निरन्तर पैरवी गर्दै आएको छ।
गृह श्रमिक सरोकार समाज नेपालको विश्वास स्पष्ट छ—
“श्रमिक अधिकार मानव अधिकार हो।”
गृह श्रमिकले पनि सम्मान, सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, मातृत्व सुविधा तथा सुरक्षित श्रम वातावरण पाउनुपर्छ भन्ने आवाजलाई संस्थाले राष्ट्रिय बहसको विषय बनाएको छ।
आज प्रभा पोखरेलको नेतृत्वमा यो संस्था केवल एउटा गैरसरकारी संस्था मात्र होइन, हजारौं गृह श्रमिक महिलाको आशा, आत्मविश्वास र सम्मानको साझा अभियान बनेको छ।
संस्थापक प्रतिमा पोखरेलले विद्यालयका केही विद्यार्थीको पीडाबाट सुरु गरेको मानवीय संवेदनाको यात्रा आज हजारौं गृह श्रमिक परिवारको जीवन परिवर्तन गर्ने अभियानका रूपमा स्थापित भएको छ।



प्रतिकृया दिनुहोस्