‘निजी क्षेत्रको आत्मविश्वास बढे मात्र अर्थतन्त्रले गति लिन्छ’ — कुलमान घिसिङ

‘निजी क्षेत्रको आत्मविश्वास बढे मात्र अर्थतन्त्रले गति लिन्छ’ — कुलमान घिसिङ

काठमाडौं, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी क्षेत्रको मनोबल र आत्मविश्वास अभिवृद्धि नगरी मुलुकको अर्थतन्त्रले अपेक्षित गति लिन नसक्ने बताएका छन्।

प्रधानमन्त्री र निर्माण व्यवसायीबीच हालै भएको छलफलपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले सरकार र निजी क्षेत्रबीचको संवादलाई सकारात्मक पहलका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यस्तो संवादले उद्योगी, व्यवसायी तथा लगानीकर्तामा विश्वास बढाउन सहयोग पुग्नेछ।

घिसिङले हाल विभिन्न क्षेत्रमा देखिएको अनिश्चितता र त्रासको वातावरण अन्त्य गर्न राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दै लगानी र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार सरकारले नियमनसँगै सहजीकरण र सहयोगी भूमिका निर्वाह गर्न सके आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्नेछ।

उनले कर्मचारी, लगानीकर्ता तथा निर्माण व्यवसायीको मनोबल उच्च राख्न सके मात्र उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा विस्तार हुने धारणा व्यक्त गरेका छन्।

साथै, जलविद्युत् लगायत अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रहरूको विकास र प्रवर्द्धनमा सरकारले थप प्राथमिकता दिनुपर्ने सुझाव पनि घिसिङले दिएका छन्।

उनले आर्थिक सुधारका लागि सरकार, निजी क्षेत्र र लगानीकर्ताबीच विश्वास, सहकार्य र नीतिगत स्थायित्व आवश्यक रहेकोमा जोड दिएका छन्।