ठमेलबाट १७ करोडभन्दा बढीको अवैध डिजिटल मुद्रा कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

ठमेलबाट १७ करोडभन्दा बढीको अवैध डिजिटल मुद्रा कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, नेपाली नागरिकहरूलाई प्रलोभनमा पारी ठगी गरेको र अवैध अभौतिक मुद्रा (Digital Currency) को कारोबारमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२६ ठमेल बस्ने ३५ वर्षीय चिनियाँ नागरिक Zhu Yi Feng रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बिहीबार ठमेल क्षेत्रबाटै नियन्त्रणमा लिएको हो।

ठगीको तरिका र १७ करोडको कारोबार

प्रहरीका अनुसार उनले विभिन्न सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरूसँग सम्पर्क बढाउने र विभिन्न प्रलोभन देखाएर विश्वासमा पार्ने गरेका थिए। उनले नेपालीकै बैंक खाताहरू प्रयोग गरी ठगी गर्ने र सो रकमलाई अभौतिक मुद्रामा रूपान्तरण गरी कारोबार गर्ने गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले हालसम्म १७ करोड ७९ लाख ७० हजार ३ सय ७१ रुपैयाँ २३ पैसा बराबरको अभौतिक मुद्राको कारोबार गरेको सनसनीपूर्ण तथ्य खुलेको छ।

५ दिनको म्याद थप

पक्राउ परेका चिनियाँ नागरिक Zhu Yi Feng माथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप अनुमति लिइएको छ। प्रहरीले यस नेटवर्कमा अन्य व्यक्तिहरूको संलग्नताबारे पनि सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।