एनआरएनए महाधिवेशन नजिकिँदै: काठमाडौँमा चुनावी चहलपहल तीव्र, अध्यक्षका उम्मेदवार रोविन शेरचन आइपुगे

एनआरएनए महाधिवेशन नजिकिँदै: काठमाडौँमा चुनावी चहलपहल तीव्र, अध्यक्षका उम्मेदवार रोविन शेरचन आइपुगे

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन नजिकिँदै जाँदा संघीय राजधानी काठमाडौँमा चुनावी माहोल तातेको छ। फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनका लागि विश्वभरबाट एनआरएनए अभियन्ताहरू काठमाडौँ आउन थालेका छन्।

यसै क्रममा अध्यक्षका आकांक्षी रोविन शेरचन शनिबार जापानबाट काठमाडौँ आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएका उपमहासचिव प्रवीन गुरुङ लगायतका अभियन्ताहरूले स्वागत गरेका थिए।

महाधिवेशनको तयारी तीव्र भए पनि डेलिगेट्स चयन र अन्य प्राविधिक तथा कानुनी विषयमा सहमति नजुट्दा तोकिएको समयमा महाधिवेशन हुने कि नहुने भन्ने विषयमा अझै अन्योलता कायम छ। शेरचनले विवादित विषयहरू पहिला समाधान गरेर मात्रै एकताको महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन्।

शनिबार नै एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को बैठक बसेको थियो। बैठकमा मध्यपूर्वको तनाव लगायतका कारण अनलाइनबाट उम्मेदवारी दर्ता गर्ने विशेष व्यवस्था गर्ने विषयमा पनि छलफल भएको छ र यसबारे नेपालको परराष्ट्र मन्त्रालय लाई जानकारी गराउने निर्णय गरिएको छ।

बैठकमा सहभागी केही अभियन्ताहरूले विवाद समाधान नभए महाधिवेशन अक्टोबरसम्म सार्ने वा सहमतिका आधारमा नेतृत्व चयन गर्ने सुझाव दिएका थिए। तर, वर्तमान अध्यक्ष बद्री केसी ले भने तोकिएकै मितिमा महाधिवेशन गर्ने निर्णय गराएका छन्।

नयाँ नेतृत्वका लागि रोविन शेरचन र वर्तमान उपाध्यक्ष हेमराज शर्मा बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। तर, संस्थामा थप विभाजन रोक्न धेरै अभियन्ताहरूले सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने सुझाव दिएका छन्।

शेरचनले आफू सबैलाई मिलाउन सक्ने साझा व्यक्ति भएको दाबी गर्दै सकेसम्म सहमतिमै नेतृत्व चयन हुनुपर्ने, तर सहमति नभए निर्वाचनमार्फत प्रतिस्पर्धा गर्न पनि तयार रहेको बताएका छन्।

Source : Sports Mala