त्रिभुवन विमानस्थलमा ठूलो परिमाणमा विदेशी मुद्रा बरामद – स्वीडिस नागरिक पक्राउ

त्रिभुवन विमानस्थलमा ठूलो परिमाणमा विदेशी मुद्रा बरामद – स्वीडिस नागरिक पक्राउ

काठमाडौं, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ अवैध रूपमा लैजान लागिएको ठूलो परिमाणको विदेशी मुद्रा सहित एक जना विदेशी नागरिक पक्राउ परेकी छन्।

मंगलबार बिहान अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँचका क्रममा ५१ वर्षीया स्वीडिस नागरिक KUNCHOK KHANDRO लाई नियन्त्रणमा लिइएको हो। उनी सिचुवान एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट चीन जान लागेकी थिइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उनको ब्याग जाँच गर्दा अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय, चाइनिज युआन ७ हजार ४ सय तथा स्विडेनको मुद्रा Fem hundra kronor ४३ हजार बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार तोकिएको कानुनी प्रक्रिया पूरा नगरी यति ठूलो रकम बाहिर लैजान खोजिएको आशंकामा उनलाई पक्राउ गरिएको हो। बरामद मुद्रा सम्बन्धी थप विवरण र स्रोतबारे अनुसन्धान भइरहेको छ।

पक्राउ परेकी उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।

विमानस्थलमा सुरक्षा जाँच कडा बनाइएपछि यस्ता घटनामा नियन्त्रण आउन थालेको सुरक्षा स्रोतले जनाएको छ। प्रहरीले विदेशी मुद्रा कारोबार सम्बन्धी कानुन पालना गर्न सबैलाई आग्रह गरेको छ।