पशुपति जाँदा कहाँ गर्ने सवारी पार्किङ ? यस्तो छ ट्राफिकको विशेष व्यवस्था

पशुपति जाँदा कहाँ गर्ने सवारी पार्किङ ? यस्तो छ ट्राफिकको विशेष व्यवस्था

काठमाडौँ, फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि आज देशभरका शिवालयहरूमा श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। विशेषगरी भगवान् शिवको पावन निवास मानिने पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनहरूको विशाल भीड उर्लिएको छ। जय शम्भोको गुञ्जायसले काठमाडौँ उपत्यका आज पूर्ण रूपमा शिवमय बनेको छ।

महाशिवरात्रिको मुख्य केन्द्र पशुपतिनाथमा आज रातिको चारै प्रहरमा विधिपूर्वक विशेष पूजा–आराधना गरिँदैछ। मन्दिर परिसरमा महादीप, अखण्डदीप र लक्ष्यबत्ती प्रज्वलनका साथै भव्य दीपोत्सवको व्यवस्था मिलाइएको छ। भगवान् शिवलाई अति प्रिय मानिने लाखौँ बेलपत्र अर्पण गरिँदैछन् भने कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रमहरूमा शास्त्रीय गायन तथा नृत्य प्रस्तुति गरी वातावरणलाई थप आध्यात्मिक बनाइएको छ।

नेपालका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट हजारौँ तीर्थयात्री, साधुसन्त र भक्तजनहरू काठमाडौँ आइपुगेका छन्। पशुपति क्षेत्रमा देखिएको भक्तजनको अपार उपस्थिति र निरन्तर गुञ्जिरहेको ‘हर हर महादेव’को उद्घोषले राजधानी नै भक्तिमय बनेको छ।

यसैबीच, भक्तजनको चापलाई मध्यनजर गर्दै सुरक्षा निकाय र पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक तथा सुरक्षा योजना लागू गरेका छन्। सवारी व्यवस्थापनलाई सहज बनाउन प्रहरीले सिफल चौर, गुह्वेश्वरी पारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर, भण्डारखाल, तीलगङ्गा आँखा अस्पताल अगाडि र वनकाली क्षेत्रमा पार्किङको व्यवस्था मिलाएको जनाएको छ। ती स्थानमा सवारी राखी पैदल रूपमा मन्दिर प्रवेश गर्न अनुरोध गरिएको छ।

दर्शनार्थीको सुरक्षाका लागि सयौँको सङ्ख्यामा प्रहरी र स्वयंसेवकहरू परिचालन गरिएको छ। लाइन व्यवस्थापन, भीड नियन्त्रण र आपतकालीन सेवाको तयारी सुदृढ पारिएको छ। भक्तजनलाई सुरक्षाकर्मीको निर्देशन पालना गर्न, सम्भव भएसम्म सार्वजनिक सवारी प्रयोग गर्न र संयमित रूपमा दर्शन गर्न आग्रह गरिएको छ।  हर हर महादेव!