कराचीको गुल प्लाजामा भीषण आगलागी : मृत्यु हुने १० पुग्यो, ६० जना अझै बेपत्ता

कराचीको गुल प्लाजामा भीषण आगलागी : मृत्यु हुने १० पुग्यो, ६० जना अझै बेपत्ता

पाकिस्तानी सेना परिचालन, भग्नावशेषभित्र अझै धेरै फसेको आशंका

इस्लामाबाद। पाकिस्तानको कराचीस्थित एमए जिन्ना रोडमा रहेको गुल प्लाजामा आइतबार राति भएको भीषण आगलागीमा ज्यान गुमाउनेको संख्या १० पुगेको छ भने करिब ६० जना अझै बेपत्ता रहेको आशंका गरिएको छ। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको जियो न्यूजले जनाएको छ।

आगलागीपछि प्रभावित सपिङ मलमा फसेका मानिसहरूको उद्धारका लागि अग्नि तथा उद्धारकर्मीहरूले झ्याल, पर्खाल र संरचना भत्काउँदै भवनभित्र प्रवेश गर्न थालेका छन्। घटनास्थलमा २२ वटा दमकल, १० वटा वाटर बोउजर, ४ वटा स्नोर्कल र ३३ वटा एम्बुलेन्स परिचालन गरिएको छ।

जियो न्यूजका अनुसार उद्धार टोलीहरू भवनको सीमित भागमा प्रवेश गर्न सफल भएका छन् भने सम्भावित जीवित व्यक्तिको खोजीका लागि थर्मल क्यामेराको प्रयोग भइरहेको छ। भग्नावशेष हटाउने र आगो पूर्ण रूपमा नियन्त्रणमा लिने प्रयास निरन्तर जारी रहेको उद्धार अधिकारीहरूले बताएका छन्।

प्रहरीले बेपत्ता व्यक्तिहरूका परिवारका मोबाइल नम्बर संकलन गरिसकेको र भवनभित्र २० जनाभन्दा बढी व्यक्तिको सम्भावित स्थान पहिचान भइसकेको जनाएको छ। यसले उद्धारमा नयाँ आशा थपिएको अधिकारीहरूको भनाइ छ।

यसैबीच, सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले आइतबार साँझ घटनास्थलको निरीक्षण गर्दै उद्धार तथा अग्निशमन कार्यको समीक्षा गरेका छन्। उनले करिब ५८ देखि ६० जना अझै बेपत्ता रहेको र उनीहरूको सकुशल उद्धारका लागि सबै सम्भव प्रयास भइरहेको बताए। साथै, पीडित परिवारलाई सरकारले आवश्यक क्षतिपूर्ति दिने आश्वासन पनि दिएका छन्।

सिन्धका वरिष्ठ मन्त्री शरजील इनाम मेमनले आगलागीको खबर पाउनासाथ उद्धार कार्य सुरु गरिएको बताएका छन्। आगलागीले आपतकालीन अवस्था सिर्जना गरेपछि पाकिस्तानी सेनासमेत खोजी तथा उद्धार कार्यमा तैनाथ गरिएको छ।

जियो न्यूजका अनुसार पाकिस्तानी सेनाका एकाइहरू, फ्रन्टियर वर्क्स अर्गनाइजेशन (एफडब्लुओ), नागरिक प्रशासन, प्रहरी, अग्निशामक र उद्धार टोलीबीच समन्वय गरी भग्नावशेष हटाउने तथा संरचनात्मक रूपमा जोखिमपूर्ण क्षेत्रमा पुग्ने प्रयास भइरहेको छ।

भवनको अवस्थाको मूल्याङ्कन, उद्धारकर्ताको सुरक्षा सुनिश्चित गर्न भारी मेसिनरी, विशेष टोली र सेनाको इन्जिनियरिङ युनिट तयारी अवस्थामा राखिएको जनाइएको छ। अधिकारीहरूले अझै पनि धेरै मानिसहरू क्षतिग्रस्त भवनभित्र फसेको हुन सक्ने गम्भीर आशंका व्यक्त गरेका छन्।