चिलीमा भीषण डढेलो: मृत्यु १८, दुई क्षेत्रमा संकटकाल घोषणा
नुब्ले, चिली, १९ जनवरी २०२६ – चिलीको मध्य र दक्षिणी क्षेत्रमा फैलिएको विनाशकारी वन डढेलोका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ। राष्ट्रपति ग्याब्रिएल बोरिकले मृतक संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।
तीव्र हावा र अत्यधिक गर्मीका कारण डढेलो अनियन्त्रित बनेपछि सरकारले नुब्ले र बायोबियो क्षेत्रमा संकटकाल घोषणा गरेको छ।
डढेलोका कारण बायोबियो क्षेत्रमा करिब ३०० घरहरू ध्वस्त भएका छन् भने देशभर यो संख्या एक हजार नाघ्न सक्ने अनुमान गरिएको छ। हालसम्म २४ हजार हेक्टरभन्दा बढी वन क्षेत्र जलेर नष्ट भइसकेको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पेन्को, नासिमिएन्टो र लाजा नगरपालिकामा रात्रिकालीन कर्फ्यु आदेश जारी गरिएको छ।
विपद्को सामना गर्न करिब ४ हजार अग्नि नियन्त्रक र सैनिक टोली परिचालन गरिएको छ। हालसम्म ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
चिलीमा सन् २०२४ को फेब्रुअरीमा भएको डढेलोमा १३० भन्दा बढीको ज्यान गएको थियो, जसलाई देशकै सबैभन्दा ठूलो प्राकृतिक विपद्मानिएको छ।
सरकारी अधिकारीहरूले आगो नियन्त्रणमा ल्याउन र प्रभावित समुदायको सुरक्षा र राहत सुनिश्चित गर्न प्रयास जारी राखेको बताएका छन्।



प्रतिकृया दिनुहोस्