स्पेनमा रेल दुर्घटना: कम्तीमा २१ जनाको मृत्यु, ७० भन्दा बढी घाइते

स्पेनमा रेल दुर्घटना: कम्तीमा २१ जनाको मृत्यु, ७० भन्दा बढी घाइते

म्याड्रिड, १९ जनवरी २०२६ – दक्षिणी स्पेनमा दुई उच्च-गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये ३० भन्दा बढीको अवस्था गम्भीर रहेको स्पेनका यातायात मन्त्री ओस्कार पुएन्तेले बताएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

दुर्घटना कोर्डोेबा नजिकैको आदामुज क्षेत्रमा भएको हो। मलागाबाट म्याड्रिडतर्फ गइरहेको रेल अचानक लिकबाट खसेर म्याड्रिड–ह्वेल्भा जाने अर्को उच्च गतिका रेलसँग ठोक्किएको रिपोर्ट गरिएको छ।

रेल्वे लिक गत वर्ष मे महिनामा मात्र मर्मत गरिएको थियो। मलागा–म्याड्रिड रेल सञ्चालन गर्ने निजी कम्पनी इरियोका अनुसार पहिलो रेलमा करिब ३०० यात्रु सवार थिए भने दोस्रो रेलमा करिब १०० यात्रु थिए।

प्रधानमन्त्री पेद्रो सान्चेजले देशले अहिले गहिरो पीडाको रात भोगिरहेको बताउँदै, दुर्घटनामा परेका सबैको उद्धार र सहयोगका लागि सरकार सक्रिय भएको जानकारी दिएका छन्।

उद्धारकर्मीहरूले रेलको च्यापिएको भग्नावशेषका कारण उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण रहेको बताएका छन्। दुर्घटनाको ठ्याक्कै कारण अहिलेसम्म खुलेको छैन, र छानबिनबाट निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने बताइएको छ।

यो दुर्घटना स्पेनको रेल इतिहासकै गम्भीर घटनामध्ये एक मानिएको छ, र सम्पूर्ण देश शोकमा डुबेको छ।