ऐतिहासिक क्षण: क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भेटवार्ता
बेइजिङ। विगत दशकयताकै चिसिएको क्यानडा–चीन सम्बन्धमा आज ठूलो मोड आएको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा ऐतिहासिक भेटवार्ता भएको छ, जसले व्यापार र द्विपक्षीय सहकार्यको नयाँ अध्याय सुरु गर्ने संकेत दिएको छ।
सन् २०१८ मा हुवावेका अधिकारीको पक्राउपछि क्यानडा–चीन सम्बन्ध निकै तनावपूर्ण भएको थियो। त्यसयता कुनै पनि क्यानडियन प्रधानमन्त्री चीन भ्रमण गरेका थिएनन्। आजको भेटलाई अधिकारिकहरूले ‘परिणाममुखी र ऐतिहासिक’ कदमको रूपमा व्याख्या गरेका छन्।
प्रधानमन्त्री कार्नीले भेटमा कृषि, ऊर्जा र वित्त क्षेत्रमा दुवै देशले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले दुवै देशका जनताका लागि स्थिरता, सुरक्षा र समृद्धि सुनिश्चित गर्न यो साझेदारी महत्वपूर्ण रहेको बताए।
राष्ट्रपति सी जिनपिङले आठ वर्षपछि भएको यो भ्रमणलाई सकारात्मक रूपमा लिँदै “सुधारको मोड” आएको बताए। उनले चीन–क्यानडा सम्बन्धको स्वस्थ र स्थिर विकासले विश्व शान्ति र समृद्धिमा टेवा पुग्ने पनि औँल्याए।
क्यानडाले अमेरिकामाथिको निर्भरता कम गर्दै नयाँ व्यापारिक अवसर खोज्ने उद्देश्यका साथ चीनसँगको सम्बन्ध पुनः सुधार गर्न चाहेको देखिन्छ।
प्रधानमन्त्री कार्नीले बेइजिङ भ्रमणपछि भोलि कतारका अमिरसँग वार्ता गर्न दोहा प्रस्थान गर्नेछन्, जसले उनको मध्यपूर्व र एशियाली कूटनीतिक दौडलाई अझ विस्तार दिनेछ।



प्रतिकृया दिनुहोस्