दक्षिण कोरियामा भूकम्पझैँ फैसला: पूर्वराष्ट्रपति युन सुक योललाई ५ वर्षको जेल
सोल। दक्षिण कोरियाको राजनीतिक इतिहासमै ठूलो हलचल ल्याउने फैसला आएको छ। अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागू गर्ने निर्णयसँग जोडिएका अभियोगमा दोषी ठहर गर्दै ५ वर्षको कैद सजाय सुनाएको छ।
यो फैसला सन् २०२४ को अन्त्यतिर युनले जारी गरेको विवादास्पद मार्सल ल आदेशसँग सम्बन्धित आठ आपराधिक मुद्दामध्ये पहिलो निर्णय हो, जसले देशको लोकतन्त्र नै संकटमा पारेको अभियोजन पक्षको दाबी छ।
सियोल केन्द्रीय जिल्ला अदालतले युनले हिरासत आदेश अवहेलना गरेको, राज्य शक्तिको दुरुपयोग गरेको र कानूनी शासनलाई चुनौती दिएको ठहर गरेको छ। अदालतका अनुसार यस्ता कदमहरू लोकतान्त्रिक व्यवस्थामाथिको प्रत्यक्ष आक्रमण हुन्।
युनमाथि सबैभन्दा गम्भीर आरोप भनेको मार्सल ल कार्यान्वयनका क्रममा विद्रोहको नेतृत्व गर्नु हो। यो अभियोगमा कानूनअनुसार मृत्युदण्डसम्मको सजाय हुन सक्ने भए पनि त्यसबारे अन्तिम फैसला आउन अझै बाँकी छ।
फैसलापछि युनले कुनै प्रतिक्रिया दिएका छैनन्। यसअघि भने उनका वकिलहरूले आरोपहरूलाई राजनीतिक प्रतिशोध भन्दै अस्वीकार गरेका थिए। विशेष वकिलले १० वर्षको जेल सजाय माग गरेपछि उनका समर्थकहरू सडकमा उत्रिएका थिए।
डिसेम्बर २०२४ मा अल्पकालीन मार्सल ल घोषणा गरेपछि देशभर विरोध प्रदर्शन चर्कियो। आन्दोलनले उग्र रूप लिँदै गएपछि युनमाथि महाभियोग, पक्राउ र अन्ततः राष्ट्रपतिबाट बर्खास्ती भयो।
युनले आफ्नो कदम संसद्बाट उत्पन्न ‘खतरा’बारे जनतालाई सचेत गराउन मात्र गरिएको दाबी गर्दै आएका छन्। तर अनुसन्धानकर्ताहरूले भने उक्त आदेशलाई सत्ता सुदृढीकरणको प्रयास, विद्रोह र गम्भीर आपराधिक षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्।



प्रतिकृया दिनुहोस्