नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न

नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न

काठमाडौँ । नागरिक लगानी कोषले सेयरधनीलाई आकर्षक प्रतिफल दिने निर्णय गर्दै आफ्नो ३१औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।

गत आर्थिक वर्षमा कोषले करपछिको खुद नाफा १ अर्ब २५ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ। उक्त नाफामध्ये २५ करोड १२ लाख रुपैयाँ साधारण जगेडा कोषमा राखी बाँकी रकम सेयरधनीलाई लाभांशका रूपमा वितरण गर्ने निर्णय गरिएको हो।

कोषले सञ्चालन गर्दै आएको विभिन्न बचत कार्यक्रममार्फत आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ६६ अर्ब ६५ करोड रुपैयाँ खुद कोष सङ्कलनगरेको जनाएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा बचत परिचालन मौज्दात २ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ, जसले कोषप्रति जनविश्वास बढ्दो क्रममा रहेको संकेत गर्छ।

साधारणसभाले वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित सम्पूर्ण वित्तीय विवरण पारित गरेको छ। साथै, सर्वसाधारण सेयरधनीको तर्फबाट नारायणप्रसाद घिमिरे सर्वसम्मत रूपमा चयन भएका छन्।

सभालाई सम्बोधन गर्दै अध्यक्ष तुलसीप्रसाद घिमिरेले लाभांशप्रति सेयरधनी सन्तुष्ट देखिनु सकारात्मक संकेत भएको बताए। उनले कर्मचारीको सेवा–सुविधा, वृत्तिविकास र संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै दूरदर्शी ढङ्गले कोष अघि बढाइने प्रतिबद्धता जनाए।

कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले नेपाल वायुसेवा निगमलाई विमान खरिदका लागि दिइएको कर्जा असुलीमा केही जटिलता देखिएको स्वीकार गरे। तर, नेपाल सरकार ग्यारेन्टर भएकाले ढिलो–चाँडो असुली हुने विश्वास व्यक्त गरे।

कोषले शिक्षा, विपद् व्यवस्थापन र पुनर्निर्माणमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्दै आएको जानकारी दिँदै कार्कीले संस्थाका सम्पूर्ण तथ्याङ्क डिजिटलाइज्ड गर्दै सुरक्षित डाटा भण्डारण प्रणाली विकास भइरहेको बताए।