एसबिआई बैंक लुट: फरार दुई लुटेरा अझै खोजीमा, प्रहरी अपरेसन जारी

एसबिआई बैंक लुट: फरार दुई लुटेरा अझै खोजीमा, प्रहरी अपरेसन जारी

सिन्धुली। सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ स्थित एसबिआई बैंकमा भएको फिल्मी शैलीको लुटपाट घटनामा प्रहरीले चार जनालाई पक्राउ गर्न सफल भएको छ। मंगलबार साँझ करिब साढे ७ बजे गाडीमा आएका ६ जनाको अज्ञात समूहले बैंकमा पसेर खुकुरी देखाउँदै आतंक मच्चाएको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार लुटेराले बैंकबाट ३ करोड १० लाख रुपैयाँ लुटेर फरार भएका थिए। तर, घटनापछि प्रहरीले चलाएको तीव्र खोजतलासका क्रममा लुटिएको रकममध्ये १ करोड ८० लाख रुपैयाँ नजिकैको जंगलमा बोराभित्र फालिएको अवस्थामा बरामद गरिएको छ।

एसपी लालध्वज सुवेदीले भने,

“घटनामा संलग्न ६ जनामध्ये ४ जना पक्राउ परेका छन्। बाँकी दुई जना र बाँकी रकमको खोजी तीव्र रूपमा भइरहेको छ।”

लुटपाटका क्रममा लुटेरा समूहले बैंकका सुरक्षा गार्डमाथि हतियार प्रहार गरेको खुलेको छ। खुकुरी देखाएर त्रास सिर्जना गरिएको भए पनि हालसम्म खुकुरी भने बरामद भइसकेको छैन।

पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय ल्याइँदै गरिएको छ भने फरार लुटेराको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। घटनाले सिन्धुली मात्र होइन, देशभर सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।


यो समाचार सेयर गर्नुहोस्
तपाईंको क्षेत्र सुरक्षित छ त? कमेन्टमा प्रतिक्रिया दिनुहोस्

थप अपडेटका लागि हाम्रो पोर्टल फलो गर्न नबिर्सनुहोस्।