२०८३ को विजयादशमी: देवी विसर्जन बिहान ८:४९ बजे, टीकाको साइत १०:२६ बजे

२०८३ को विजयादशमी: देवी विसर्जन बिहान ८:४९ बजे, टीकाको साइत १०:२६ बजे

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८३ सालको बडादसैँअन्तर्गत विजयादशमीको टीकाको शुभ साइत तथा टीका लगाउने र ग्रहण गर्ने दिशासम्बन्धी आधिकारिक विवरण सार्वजनिक गरेको छ।

समितिका अनुसार २०८३ सालको विजयादशमी कात्तिक ४ गते बुधबार (अक्टोबर २१, २०२६) का दिन परेको छ। सो दिन बिहान ८:४९ बजे देवी विसर्जनको शुभ साइत रहेको छ भने विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे निर्धारण गरिएको छ। समितिले साइत खोज्नेहरूका लागि बिहान १०:२६ बजेको समय उत्तम भए तापनि विजयादशमीका दिनभरि नै देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्न सकिने स्पष्ट पारेको छ।

त्यस्तै, टीका लगाउने र ग्रहण गर्दा अपनाउनुपर्ने दिशाका सम्बन्धमा पनि शास्त्रीय मान्यता अनुसार मार्गदर्शन गरिएको छ। टीका ग्रहण गर्ने (लगाइमाग्ने) व्यक्ति पश्चिम दिशातर्फ फर्केर बस्नुपर्नेछ भने टीका लगाइदिने व्यक्ति पूर्व दिशातर्फ फर्केर बस्नुपर्नेछ। शास्त्रीय विधान अनुसार टीका लगाइदिने मानिस पूर्व फर्कँदा टीका ग्रहण गर्ने व्यक्ति स्वतः पश्चिम दिशामा पर्न जाने समितिले जनाएको छ।