प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक दीक्षान्त समारोह सम्पन्न: ‘दबाब र प्रभावमा नपरी कर्तव्यनिष्ठ हुन’ आह्वान
काठमाडौँ, असोज । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम (१-१८४औँ समूह) को दीक्षान्त समारोह सोमबार विशेष समारोहका बिच भव्य रूपमा सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा ८ जना महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू सफलतापूर्वक दीक्षित भएका छन्।
समारोहका दौरान प्रधानमन्त्री बालेन्द्र शाहले तालिम अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक चोपबहादुर ढेंगालाई पुरस्कार प्रदान गर्नुभयो। सोही अवसरमा नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले अन्य विधामा उत्कृष्ट हुने प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गर्नुभयो:
• कवाज तथा अध्ययन प्रथम एवं ‘कुलानन्द विद्या पुरस्कार’: चोपबहादुर ढेंगा
• सर्वद्वितीय: बालकृष्ण पोख्रेल
• सर्वतृतीय: विशाल पौडेल
• शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम: गोपाल राई
• प्रहरी युक्ति तथा कारबाही प्रथम: राज कुमार जिटी
• चाँदमारी प्रथम: विकास कुमार धामी
“कुनै दबाब वा प्रभावमा नपरी निष्पक्ष काम गर्नुहोस्”: प्रधानमन्त्री शाह
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले कठिन तालिम पूरा गरी देश सेवामा समर्पित हुने सम्पूर्ण नवदीक्षित अधिकृतहरूलाई बधाई तथा शुभकामना दिनुभयो।
“नागरिकको जीवन रक्षा, अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको हो,” प्रधानमन्त्री शाहले भन्नुभयो, “यो जिम्मेवारी सम्हाल्दा कुनै पनि प्रकारको अनुचित प्रभाव, दबाब वा व्यक्तिगत स्वार्थमा नपरी निष्पक्ष र भेदभाव रहित रूपमा कर्तव्यमा अडिग रहनुपर्छ। आधुनिक युगसँगै बदलिएको अपराधको प्रकृतिलाई सामना गर्न सूचना र प्रविधिको सही प्रयोग अपरिहार्य छ। नेपाल सरकार प्रहरीलाई चाहिने स्रोतसाधन उपलब्ध गराउन पूर्ण प्रतिबद्ध छ।”
समारोहमा स्वागत मन्तव्य राख्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी निरीक्षक पद केवल एउटा दर्जा नभई नेतृत्व क्षमता र उत्तरदायित्वको कडा परीक्षा भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “बदलिँदो सुरक्षा परिवेश, साइबर अपराध तथा डिजिटल चुनौतीहरूलाई सामना गर्न नेपाल प्रहरीले आफ्नो कार्यशैली र प्रविधिलाई निरन्तर अध्यावधिक गरिरहेको छ। कृत्रिम बौद्धिकता (AI), डिजिटल प्रणाली र आधुनिक प्रविधिको विवेकपूर्ण प्रयोग गर्दै मानवअधिकार र कानुनको परिधिभित्र रही पारदर्शी एवं परिणाममुखी सेवा प्रवाह गर्नु हाम्रो मुख्य प्राथमिकता हो।”
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले दीक्षित अधिकृतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो। प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८२ जेठ २३ गतेदेखि सुरु भएको ३४० दिनको कठोर तालिम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो।
समारोहमा प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयले सांगीतिक धुन प्रस्तुत गरेका थिए भने दीक्षित प्रहरी अधिकृतहरूलाई उनका अभिभावकहरूले दर्ज्यानी चिन्ह (इन्सिग्निया) सुशोभन गराउनुभएको थियो। उक्त अवसरमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, नायव महान्यायाधिवक्ता, विभिन्न सुरक्षा निकायका प्रमुख तथा वरिष्ठ अधिकृतहरू र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
तस्वीर : नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय



प्रतिकृया दिनुहोस्