नेपालमा ९ वर्ष जेल बसेका अमेरिकी नागरिक आफ्नै देशमा पनि बाल यौन दुराचारमा दोषी ठहर
काठमाडौं । नेपालमा बाल यौन दुराचारको अभियोगमा ९ वर्ष कैद सजाय भोगेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सअमेरिकाको संघीय अदालतबाट पनि सोही प्रकृतिको कसुरमा दोषी ठहर भएका छन्।
अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार नेपालमा सजाय पूरा गरी फर्किएका कुम्ब्सलाई सेप्टेम्बर २०२५ मा अमेरिकी कानुन प्रवर्तन निकायले पक्राउ गरेको थियो। उनी त्यसयता हिरासतमै छन् भने अक्टोबर २८ मा सजाय निर्धारण (सजाय सुनुवाइ) हुने तयारी गरिएको छ।
यो प्रकरणको अनुसन्धान नेपाल प्रहरीले संगठित रूपमा बालबालिकाको यौन शोषण गराउने गिरोह सञ्चालन भइरहेको सूचनाका आधारमा सुरु गरेको थियो। अनुसन्धानका क्रममा २०७३ भदौ २४ गते काठमाडौंको ठमेलस्थित याम्बु होटलबाट कुम्ब्स र उनलाई सहयोग गरेको आरोपमा बुद्ध पुतवार (लुच्चे) लाई पक्राउ गरिएको थियो।
पछि जिल्ला अदालत काठमाडौंले २०७४ वैशाख १० गते कुम्ब्सलाई ९ वर्ष कैद तथा उनका सहयोगी पुतवारलाई ४ वर्ष कैद सजाय सुनाएको थियो।
अमेरिकी न्याय विभागका अनुसार कुम्ब्सले सन् २०१६ मा नेपाल बसाइका क्रममा आठ जना बालबालिकामाथि यौन दुर्व्यवहार गरेका थिए। उनीमाथि बल प्रयोग, जबरजस्ती नशालु पदार्थ सेवन गराउने, पैसाको प्रलोभन देखाउने तथा पीडितका तस्बिरहरू आफ्ना इलेक्ट्रोनिक उपकरणमा राखेको आरोप पनि पुष्टि भएको जनाइएको छ।
उक्त अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय, नेपालस्थित अमेरिकी दूतावास तथा गैरसरकारी संस्था नयाँ पाइला ले सहयोग गरेको अमेरिकी न्याय विभागले जनाएको छ।



प्रतिकृया दिनुहोस्