४० जिल्लामा जनमोर्चाको उम्मेदवार घोषणा : भट्ट मैदानमा उत्रिएसँगै डोटी क्षेत्र नं. १ मा परिवर्तनको बहस
डोटी । राष्ट्रिय जनमोर्चाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ४० जिल्लाका ७० निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार तय गरेको छ।समानुपातिकतर्फ भने पार्टीले ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ।
पार्टी पदाधिकारीमध्ये महासचिव मनोज भट्ट (मणिराज) डोटी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा उम्मेदवार बन्दै गर्दा जिल्लाको राजनीतिक माहोल तातेको छ। अध्यक्ष चित्रबहादुर केसी, कार्यवाहक अध्यक्ष रश्मीराज नेपाली र उपाध्यक्ष दुर्गा पौडेल भने समानुपातिक सूचीमा समावेश भएका छन्।
चुनावी गठबन्धन नगर्ने स्पष्ट निर्णय लिएको जनमोर्चाले बागलुङमा भने नेकपासँग सीमित तालमेल गरेको छ। बागलुङ क्षेत्र नं. १ मा पार्टीका पूर्वसचिव कृष्ण अधिकारी उम्मेदवार बनेका छन् भने क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टीका ज्ञाननाथ गैरेलाई समर्थन गर्ने निर्णय गरिएको छ।
डोटी क्षेत्र नं. १ मा भट्टको उम्मेदवारी : परिवर्तनको संकेत
लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय, स्पष्ट वक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिएका मनोज भट्टको उम्मेदवारीलाई डोटीवासीले परिवर्तनको भरोसाका रूपमा लिएका छन्। भ्रष्टाचारविरुद्ध कठोर अडान, सुशासन, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएका भट्ट पार्टीभित्र मात्र होइन, बाहिर पनि सम्मानित नेताका रूपमा परिचित छन्।
पार्टी महासचिवको जिम्मेवारीमा रहँदै संगठन विस्तार, वैचारिक स्पष्टता र कार्यकर्ता सुदृढीकरणमा खेलेको भूमिकालाई राजनीतिक वृत्तले उच्च मूल्यांकन गरेको छ। स्थानीय विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै डोटीको दीर्घकालीन विकासको खाका अघि सार्ने भट्टको प्रतिबद्धताले जनआकर्षण बढाएको छ।
“राजनीति सत्ता प्राप्तिको माध्यम होइन, जनसेवाको बाटो हो” भन्ने उनको दृष्टिकोणले युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साह थपेको देखिन्छ। डोटी क्षेत्र नं. १ मा देखिएको जनसमर्थन, कार्यकर्ता सक्रियता र नागरिक सहभागिताले यस निर्वाचनलाई विशेष अर्थ दिएको छ।
आसन्न निर्वाचन नजिकिँदै जाँदा मनोज भट्टको उम्मेदवारी राष्ट्रिय जनमोर्चाका लागि मात्र होइन, डोटी जिल्लाको राजनीतिक भविष्यका लागि निर्णायक बन्न सक्ने विश्लेषण हुन थालेको छ।



प्रतिकृया दिनुहोस्