रातको दुई बजे: युवा नेतृत्वको उदय, साथीको साथ – देशप्रेमी कथा

रातको दुई बजे: युवा नेतृत्वको उदय, साथीको साथ – देशप्रेमी कथा

रातको दुई बजे…

काठमाडौँ, नेपाल – रातको दुई बजे मोबाइलको घण्टी बज्यो। आँखा मिच्दै फोन उठाएँ।
फोनको अर्को छेउमा साथीको हतास भरेको आवाज सुनियो—
“मित्र, म आगामी निर्वाचनमा आफ्नो नाम दर्ता गर्न जाँदैछु। पार्टीले मेरो नाम सिफारिस गर्‍यो। यो खबर तुरुन्तै बाहिर ल्याउनु पर्छ।”

मुस्कुराएँ। मेरो अनन्य मित्रलाई जितको शुभकामना दिएँ।
“अब देशका युवा ले देशको भविष्य निर्माण गर्नु पर्छ। तिमी सफल हुनु।”

केवल पाँच–सात मिनेटको कलमा, साथीले आफ्नो एजेण्डा र उमेद्वारीको तर्क राख्यो। समाचार तयार भयो। मैले उसलाई आग्रह गरेँ—
“म यो समाचार प्रेस ग्रुपमा हाल्छु, त्यसपछि सुतौँला। भोली भेटौँला, भोट माग्न मैदानमा म पनि संगै हुनेछु।”

तर उसले हतारमा भन्यो—
“मित्र, भोली पत्रकार सम्मेलन राखेको छु। म दमदार तयारीमा छु।”

मैले सल्लाह दिएँ—
“धेरै खर्च नगर्नु, हाम्रो सम्पर्कले पनि काम सकिन्छ।”

उसले निराश आवाजमा जवाफ दियो—
“के खर्च गर्ने? भोलीको उम्मेद्वारी  दर्ता गर्न समेत पैसा छैन, मित्र।”

मेरो आखाँ भरियो। मुटु भारी भयो। केही क्षण मौन रहँदै, मैले भने—
“साथी, यही परिस्थितिका कारण हजारौं नेपाली युवा आफ्नो देश छोड्न बाध्य छन्। यही देशप्रेम र जिम्मेवारीका लागि तिमी मैदानमा उत्रदैछौं। म सकेको सबै सहयोग गर्नेछु। तिमी अगाडि बढ, म छुँ।”

केही बेरपछि हामी छुट्यौं।
निद्रा लागेन। मन भारी भयो।
उम्मेद्वारी  दर्ता गर्न समेत पैसा नहुँदा पनि, आफ्नो देश र मातृभूमिको लागि योगदान दिने साहस र इमानदारीका साथ मैदानमा उत्रिने मेरो मित्र—तिमीलाई सलाम।

यस्तो मित्रता र भावना, यस्तो युवा नेतृत्व, यही हो साँचो राष्ट्रप्रेम।
यस्तो सोच र जोश लिएर मात्र साँचो देश निर्माण गर्न सकिन्छ।


(लेखक: दामोदर भट्ट, प्रमुख कार्यकारी अधिकृत, मिडिया ठाँटी प्रा. लि., साथै प्रधान सम्पादक, ठाँटी खबर)