लामो समयपछि गुरूसँगको भेट: डा. भट्टराईका लागि प्रेरणादायी अनुभव

लामो समयपछि गुरूसँगको भेट: डा. भट्टराईका लागि प्रेरणादायी अनुभव

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई ले आफ्नो ९५ वर्षीय गुरू तथा प्रख्यात शिक्षाशास्त्री थोमस वरूघीज (केरला, भारत) सँग भेट गरी शिक्षा क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको उच्च सम्मान व्यक्त गरेका छन्।

शिक्षाशास्त्री थोमस वरूघीजले १९६० को दशकमा गोरखामा अमर ज्योति जनता माध्यमिक विद्यालयको स्थापना गरेका थिए भने पछि टिकापुरमा अर्को उत्कृष्ट विद्यालयको विकास गर्दै नेपाली शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

डा. भट्टराईले गुरूसँगको यस भेटलाई आफ्नो जीवनकै अत्यन्त प्रेरणादायी र भावनात्मक क्षण को रूपमा उल्लेख गरेका छन्।

उक्त अवसरमा डा. भट्टराईले आफ्नो प्रिय गुरू आमा तथा उहाँकी पत्नी मेरी वरूघीजको हालै भएको निधनप्रति हृदयदेखि श्रद्धाञ्जली व्यक्त गरेका छन्।

यस भेटको संयोजनका लागि उनले आनन्द भाई (डा. जर्ज वरूघीज) लाई विशेष धन्यवाद दिएका छन्। डा. भट्टराईले भने,

“मेरा आदरणीय गुरू थोमस वरूघीजलाई लामो समयपछि भेट्न पाउँदा असीम खुशी र गर्वको अनुभूति भयो। शिक्षा नै समाजको आधार हो, र उहाँजस्ता महान शिक्षाशास्त्रीहरूको योगदानले हाम्रो भविष्य उज्ज्वल बनाउँछ।”

यस भेटले शिक्षा क्षेत्रप्रतिको सम्मान, गुरू–शिष्य परम्पराको मूल्य र शिक्षित, प्रगतिशील नेपाल निर्माणको आवश्यकता लाई पुनः पुष्टि गरेको छ।