तीन महिनापछि जीवन जितेर स्वदेश फर्कँदै झलनाथ खनालकी पत्नी रविलक्ष्मी
आईसियु, हात गुमाउने पीडा र मृत्युको छायाँ चिरेर आशाको घरफिर्ती
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी, प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म चलेको जीवन–मरणको संघर्षपछि अन्ततः स्वदेश फर्कँदै छिन् । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालको आईसियु, जनरल वार्ड र निरन्तर उपचारको कठिन यात्रापछि उनी सोमबार साँझ नेपाल आइपुग्ने कार्यक्रम छ ।
जेनजी आन्दोलनका क्रममा घरमै भएको भयावह आगलागीले चित्रकारलाई मृत्युको मुखसम्म पुर्याएको थियो । भदौ २४ गते बिहान खनाल दम्पती बसोबास गर्ने निवासमा भएको आगलागीमा उनको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो । विशेषगरी देब्रे हातमा लागेको गहिरो चोटले संक्रमण फैलिँदै जाँदा अवस्था अत्यन्तै जटिल बनेको थियो ।
सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको भए पनि फोक्सोमा निमोनिया देखिएपछि चिकित्सकको सल्लाहमा एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो । एपोलो अस्पतालमा उनलाई लामो समय आईसियुमा राखेर उपचार गरियो । संक्रमण ज्यानै जोखिममा पुगेपछि चिकित्सकहरूले कुमभन्दा मुनिको देब्रे हात काट्नुपर्ने कठिन निर्णय गर्नुपर्यो ।
त्यो पीडादायी क्षणपछि पनि उनले हार मानिनन् । क्रमशः स्वास्थ्यमा सुधार आयो, आईसियुबाट जनरल वार्ड हुँदै पछिल्ला केही सातादेखि अस्पताल बाहिर बसेर नियमित फलोअप गराइरहेकी थिइन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल भन्छन्—
“उहाँ अझै पूर्ण रूपमा पहिलेजस्तै हुनुहुन्न, तर सबैभन्दा ठूलो कुरा जीवन जोगियो। बाँकी उपचार र पुनःस्थापना नेपालमै गरिन्छ।”
नेपाल फर्किएपछि चित्रकारलाई स्वास्थ्य सेवा सहज हुने स्थान भन्दै डल्लु क्षेत्रमा भाडाको घर लिइसकिएको खनालले जानकारी दिएका छन् ।
तीन महिनासम्म परदेशी अस्पतालको चिसो शैयामा मृत्यु र जीवनबीच झुलिरहेकी चित्रकारको स्वदेश आगमनलाई परिवार, आफन्त र शुभेच्छुकहरूले आँखाभरि आशा र मनभरि संवेदना बोकेर प्रतीक्षा गरिरहेका छन् ।
जीवनले फेरि जितेको छ।
यो केवल घरफिर्ती होइन, साहस र धैर्यको विजय हो।



प्रतिकृया दिनुहोस्