फागुन २१ को निर्वाचनमा सबै दल सहभागी हुन्छन्: सञ्चारमन्त्री खरेलको दाबी, “निर्वाचनको वातावरण तयार भइसकेको छ”

फागुन २१ को निर्वाचनमा सबै दल सहभागी हुन्छन्: सञ्चारमन्त्री खरेलको दाबी, “निर्वाचनको वातावरण तयार भइसकेको छ”

चरिकोट, मङ्सिर ८ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर देशभर राजनीतिक चहलपहल बढिरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले “सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनेछन्” भन्दै स्पष्ट सन्देश दिनुभएको छ।

कालिन्चोक–८, सुनखानीस्थित कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री खरेलले सरकार निर्वाचनका लागि पूर्ण तयारी अवस्थामा रहेको बताउनुभयो।

उहाँले भने,
“हाम्रो मुख्य लक्ष्य निर्वाचन हो। सरकार तयार छ। सबै राजनीतिक दलले सहभागिता जनाउँदै छन्। निर्वाचनको सकारात्मक वातावरण देशभर फैलाउनुपर्छ।”


सुशासनमा सम्झौता हुँदैन: मन्त्री खरेल

मन्त्री खरेलले ६ महिनाभित्र देशले सुशासनको अनुभूति गर्ने गरी काम भइरहेको बताउँदै भ्रष्टाचार नियन्त्रण र पारदर्शितालाई प्राथमिकतामा राखिएको उल्लेख गरे।

जेनजी आन्दोलनबारे सरकार स्पष्ट रहेको बताउँदै उहाँले भने,
“जेनजी आन्दोलनको विरुद्ध कुनै पनि गतिविधि सरकारलाई स्वीकार्य हुँदैन। आन्दोलनका घाइते र शहीदहरूको योगदानलाई खेर जान दिइँदैन।”


“राजनीतिक स्वार्थले विकासदेखि शिक्षा क्षेत्रसम्म प्रभावित”

मन्त्री खरेलले पछिल्ला वर्षहरूमा राजनीतिक दलहरूको अत्यधिक सत्ता–प्रतिस्पर्धा र स्वार्थमुखी राजनीतिले देशको विकास तथा शिक्षा क्षेत्रमा गम्भीर असर पारेको आरोप लगाए।

उहाँले जोड दिनुभयो:
“अस्थिर सरकार र सत्ता खेलले शिक्षा क्षेत्रदेखि समग्र विकाससम्म असर पारेको छ। अब स्थिरता, गुणस्तरीय शिक्षा र सुशासनलाई प्राथमिकता दिनु आवश्यक छ।”


गृहजिल्ला दोलखामा भव्य सम्मान

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेललाई आइतबार गृहजिल्ला दोलखा पुग्दा भव्य सम्मान गरिएको थियो।
सुनखानी पुग्नेबित्तिकै स्थानीयवासीहरूले बाजागाजासहित स्वागत गरे।

सरकारका उच्च पदाधिकारीको स्वागतमा स्थानीयको सहभागिता निकै उत्साहपूर्ण थियो।
मन्त्री खरेलले जिल्लामा पुगेर कालिनाग मन्दिरमा पूजा गरेका थिए।
त्यसपछि विभिन्न स्थानीय कार्यक्रम र कालिन्चोक गाउँपालिकाको कार्यालय निरीक्षणसमेत गर्नुभयो।

उहाँले आफ्नै जन्मघरको भ्रमण गरी १०२ वर्षीय ज्येष्ठ नागरिकबाट आशिर्वाद पनि लिनुभयो।


आज चरिकोटमा ‘अत्यन्त महत्त्वपूर्ण’ बैठक

मन्त्री खरेल आज सोमवार सदरमुकाम चरिकोटमा जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँग छलफल तथा महत्वपूर्ण बैठकहरूमा सहभागी हुने कार्यक्रम छ।