बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको स्वास्थ्य सेवा निरन्तर
काठमाडौं, ३० भदौ। बाढी प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरीले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तर सञ्चालन गरिरहेको छ।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटको विदुरमा भदौ १४ गतेदेखि पाँच शय्याको लेभल–१ अस्थायी (फिल्ड) अस्पताल सञ्चालनमा ल्याएको हो। भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको अस्पतालमा नेपाल प्रहरी अस्पतालबाट प्रहरी नायव उपरीक्षकसहितको विशेषज्ञ चिकित्सक टोली खटिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढीपछि विभिन्न रोगको संक्रमण फैलिन सक्ने तथा सामान्य स्वास्थ्य सेवा लिनसमेत कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै आवश्यक उपकरणसहित दक्ष चिकित्सक टोली परिचालन गरिएको हो।
फिल्ड अस्पतालबाट विशेषज्ञ चिकित्सकसहित २४सै घण्टा आकस्मिक सेवा, ओपीडी, औषधि वितरणलगायतका स्वास्थ्य सेवा निःशुल्कउपलब्ध गराइँदै आएको छ। हालसम्म उक्त अस्पतालबाट २ सय ३६ जना बाढी प्रभावितले स्वास्थ्य सेवा लिइसकेका छन्।
विपद्का कारण प्रभावित नागरिकमा देखिन सक्ने मानसिक तनाव तथा मनोसामाजिक समस्यालाई सम्बोधन गर्न नेपाल प्रहरी अस्पतालको मनोचिकित्सा विभागका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तको नेतृत्वमा मानसिक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा उद्धार कार्यमा खटिएका प्रहरी कर्मचारीलाई लक्षित गरी यस्तो सेवा दिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, विभिन्न होल्डिङ सेन्टरमा रहेका नागरिकलाई संक्रमणबाट जोगिने उपायबारे सचेतना, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरणसमेत भइरहेको छ। हालसम्म विभिन्न होल्डिङ सेन्टरमा रहेका ८ सय ४९ जनाले स्वास्थ्य परामर्श तथा सेवा प्राप्त गरेका छन्।
बाढीमा बेपत्ता भएका व्यक्तिहरू तथा बेवारिसे शवको पहिचानमा सहयोग पुर्याउने उद्देश्यले फिल्ड अस्पतालमार्फत डीएनए नमुना संकलनको कामसमेत भइरहेको छ।
नेपाल प्रहरी अस्पतालका प्रहरी नायव उपरीक्षक डा. नारायणप्रसाद अधिकारीका अनुसार बाढीपछि प्रभावित क्षेत्रमा हैजा महामारीको जोखिमलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनका कन्ट्री हेडसँगको समन्वयमा नुवाकोटमा राहत तथा उद्धारमा खटिएका प्रहरी कर्मचारीलाई हैजा सम्बन्धी सचेतना र खोप कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम न्यूनीकरण, रोगको संक्रमण रोकथाम तथा प्रभावित नागरिकलाई तत्काल उपचार सेवा उपलब्ध गराउने कार्यलाई नेपाल प्रहरीले निरन्तरता दिएको जनाएको छ।
Photo/News: Nepal Police



प्रतिकृया दिनुहोस्