१३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’
काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (DIG) तथा समाजसेवी रमेश प्रसाद खरेलले सरकारले हालै गरेको १३ देशका राजदूत सिफारिसको खुलेर प्रशंसा गर्दै स्वागत गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खरेलले दलीय भागबण्डा र राजनीतिक स्वार्थभन्दा माथि उठेर विषयविज्ञ, योग्य र गैर-राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई राजदूतमा चयन गरिनु देशका लागि अत्यन्तै सकारात्मक कदम भएको बताउनुभयो।
पूर्व डिआजी खरेलले सरकारद्वारा सिफारिस गरिएका १३ जना नै आ-आफ्नो क्षेत्रमा दक्ष, क्षमतावान् र राष्ट्रको प्रतिनिधित्व गर्न योग्य रहेको उल्लेख गर्नुभयो। दलीय राजनीतिको आधारमा नभई खुल्ला प्रतिस्पर्धा र विज्ञताका आधारमा राजदूत छनोट गर्ने परिपाटीले कूटनीतिक क्षेत्रमा नेपालको साख उकास्न मद्दत पुग्ने उहाँको भनाइ छ।
भिडियो सन्देशमार्फत खरेलले सिफारिसमा परेका सम्पूर्ण सम्भावित राजदूतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ। साथै, उहाँले पदभार ग्रहण गरेपछि कुनै पनि व्यक्तिगत, दलीय वा गुटगत स्वार्थमा नलागी केवल ‘नेपाल राष्ट्र र नेपाली जनताको हित’लाई सर्वोपरि राखेर काम गर्न विशेष आग्रह गर्नुभएको छ।
“कूटनीतिक मर्यादाको पालन गर्दै देशको छवि अन्तर्राष्ट्रिय स्तरमा उच्च राख्न र वैदेशिक सम्बन्धलाई मजबुत बनाउन सबै राजदूतहरू निष्पक्ष भएर खटिनुपर्छ,” खरेलले भन्नुभयो।
गैर-राजनीतिक तथा दक्ष व्यक्तिहरूलाई जिम्मेवारी सुम्पिने सरकारको यस निर्णयले कूटनीतिक क्षेत्रमा नयाँ र सकारात्मक परिपाटीको सुरुवात भएको भन्दै सर्वसाधारण तथा बुद्धिजीवी वृत्तबाट पनि यस कदमको प्रशंसा भइरहेको छ।



प्रतिकृया दिनुहोस्