विदेश पठाइदिन्छु भन्दै ३ करोड ३७ लाखभन्दा बढी ठग्ने ६ जना पक्राउ, अमेरिकादेखि युरोपसम्मको लोभ देखाएर लुटे!

विदेश पठाइदिन्छु भन्दै ३ करोड ३७ लाखभन्दा बढी ठग्ने ६ जना पक्राउ, अमेरिकादेखि युरोपसम्मको लोभ देखाएर लुटे!

काठमाडौँ, ३ असोज । वैदेशिक रोजगारीका नाममा सर्वसाधारणलाई करोडौँ रुपैयाँ ठगी गर्ने गिरोहमाथि प्रहरीले ठूलो कारबाही गरेको छ। आकर्षक तलब र राम्रो भविष्यको प्रलोभन देखाएर विभिन्न मुलुक पठाइदिने भन्दै कुल ३ करोड ३७ लाख रुपैयाँभन्दा बढी रकम असुल गरी फरार भएका ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा अमेरिका पठाइदिने बहानामा १४ जनाबाट २ करोड ८४ लाख रुपैयाँ ठग्ने कीर्तिपुरका २५ वर्षीय सुमित बस्नेत र जापान, पोर्चुगल तथा रोमानिया पठाउने भन्दै १६ जनाबाट १० लाख ५० हजार असुल्ने बैतडीका ४८ वर्षीय जनक बहादुर कुँवर रहेका छन्। त्यस्तै, नर्वे पठाइदिन्छु भन्दै १६ लाख ठग्ने कैलालीकी २४ वर्षीया रञ्जिता कुमारी चौधरी, इटालीको लोभ देखाएर १४ लाख ठग्ने धादिङका ४० वर्षीय राज कुमार बास्कोटा, क्यानडा पठाउने भन्दै ९ लाख ठग्ने चितवनकी ३९ वर्षीया सिमा खान र मालदिभ्स पठाइदिन्छु भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गर्ने सिराहाका ३२ वर्षीय सन्तोष साह पनि प्रहरी फन्दामा परेका छन्।

पीडितहरूबाट मोटो रकम असुलेर लामो समयदेखि सम्पर्कविहीन बनेपछि परेको उजुरीका आधारमा प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो। टोलीले सुमित, रञ्जिता र सन्तोषलाई बिहीबार तथा जनक बहादुर, सिमा र राज कुमारलाई शुक्रबार नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबै ६ जनालाई थप अनुसन्धान तथा कडा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।