‘नयाँले विनम्र भएर सिक्नुपर्छ, पुरानाले खुट्टा तान्नु हुँदैन’: डा. बाबुराम भट्टराई

‘नयाँले विनम्र भएर सिक्नुपर्छ, पुरानाले खुट्टा तान्नु हुँदैन’: डा. बाबुराम भट्टराई

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीति र राज्य सञ्चालन (स्टेटक्राफ्ट) किताबी ज्ञानले मात्र नभई व्यवहार र अनुभवबाट सिकिने कुरा भएको बताएका छन्।

हालै एक अन्तर्वार्ताका क्रममा बोल्दै डा. भट्टराईले नयाँ राजनीतिक दल तथा नेतृत्वलाई विनम्र भएर सिक्न र पुराना दलहरूलाई खुट्टा नतान्न सुझाव दिएका छन्।

नयाँ आएका नेतृत्व र सांसदहरूतर्फ लक्षित गर्दै डा. भट्टराईले भने, “राज्य सञ्चालन गर्ने कुरा अनुभवबाट सिकिने हो। नयाँ साथीहरूले आफूलाई ‘सबै जानेको छु’ वा ‘सिकाउन मात्र आएको हुँ’ भन्ने घमण्ड राख्नु हुँदैन। सिक्ने कुरा कहिल्यै सिद्धिँदैन, त्यसैले विनम्र भएर सिक्ने प्रयत्न गर्नुपर्छ।”

साथै, पुराना राजनीतिक दल र नेताहरूले पनि नयाँका सानातिना कमजोरीलाई अतिरञ्जित गरेर खुट्टा तान्ने र असफल बनाउन खोज्ने प्रवृत्ति छाड्नुपर्ने उनले बताए। “पुरानाले नयाँलाई सहयोग गर्ने र नयाँले विनम्र बनेर सिक्दै अगाडि बढ्ने नै अबको बाटो हो,” भट्टराईको भनाइ थियो।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रसङ्ग जोड्दै डा. भट्टराईले उहाँको काम गर्ने शैली परिणाममुखी र सकारात्मक रहेको टिप्पणी गरे। सार्वजनिक भेटघाट र गफगाफमा समय बिताउनुभन्दा चुपचाप काम गरेर नतिजा देखाउने शैली सकारात्मक भएको उनले बताए।

तर, वर्तमान संवैधानिक व्यवस्थाअनुसार संसद् र संसदीय प्रणालीप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै उनले थपे, “हाम्रो वर्तमान संविधानले संसदीय शासन प्रणालीको व्यवस्था गरेको छ। त्यसैले जनप्रतिनिधि र कार्यकारीले संसद्को उचित सम्मान गर्ने, संसद्मा उपस्थित हुने र त्यहाँका प्रश्नहरूको सामना गर्ने गर्नुपर्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म संसद्लाई बेवास्ता गर्न मिल्दैन।”

राजनीतिमा विभिन्न किसिमका भ्रम, दुष्प्रचार वा गम्भीर आरोपहरू उठ्ने गरेको उल्लेख गर्दै डा. भट्टराईले सत्ता र जिम्मेवारीमा रहेका व्यक्तिहरूले त्यसको स्पष्ट जवाफ दिनुपर्ने बताए।

“लोकतन्त्रमा कसैमाथि प्रश्न वा आरोप लागिसकेपछि सत्तामा हुनेहरूले तथ्यसहित चित्तबुझ्दो जवाफ दिनुपर्छ,” उनले भने, “हरेक घटना वा परिवर्तनलाई ‘षड्यन्त्र’ वा ‘विदेशीको हात’ भनेर पन्छिनु गलत हो। तर, नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशमा बाह्य शक्तिहरूको चासो रहँदैन भन्न पनि सकिँदैन। त्यसैले, सत्य–तथ्य के हो, जनतासामु प्रस्ट पार्नु नै उत्तम हुन्छ।”