नेपालभरबाट अवैध लागूऔषधसहित १६ जना पक्राउ
काठमाडौं, २२ कात्तिक | ठाँटी खबर | विशेष रिपोर्ट
नेपालका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष अभियानमा अवैध लागूऔषधसहित १६ जना पक्राउ परेका छन्। भारतदेखि नेपाल भित्रिने र भित्रैमा कारोवार गर्ने नेटवर्कमाथि प्रहरीले पछिल्ला दिनमा कडा निगरानी बढाएको हो।
झापाबाट ब्राउनसुगरसहित युवक पक्राउ
भद्रपुर नगरपालिका–५ मेचीबिट नजिकबाट ३ ग्राम ६ मिलिग्राम ब्राउनसुगर सहित २६ वर्षीय बिशाल माझी पक्राउ परेका छन्। उनी भारतबाट पैदल नेपाल छिरेका बेला प्रहरीको फन्दामा परेका हुन्।
मोरङमा ठूला परिमाणका ट्याब्लेटसहित पक्राउ
बेलबारी नगरपालिका–१ का विज्ञान राई (३२) लाई घरमै छापा मार्दा गाँजा १८० ग्राम, ट्रामाडोल ४७० ट्याब्लेट र डिक्लो स्पास प्लस ४७० ट्याब्लेट फेला परेको छ।
धनकुटामा दुई जना नियन्त्रित औषधीसहित
धनकुटा नगरपालिका–६ औद्योगिक क्षेत्रबाट ट्रामाडोल, स्पास्पेन र डिकोलिक गरी २१४ ट्याब्लेट सहित तिलक भुजेल र मौसम राई पक्राउ परेका छन्।
धनुषामा किशोर पक्राउ: रेल्वे पट्रीमै हेरोइनसहित
विदेह नगरपालिका–१ बाट ७४० मिलिग्राम हेरोइनजस्तो पदार्थ सहित १८ वर्षीय युवक पक्राउ परेका छन्। उनी भारतबाट नेपालतर्फ आउँदै गर्दा समातिएका हुन्।
ललितपुरमा ४ हजारभन्दा बढी ट्याब्लेट र नगद बरामद
गोदावरी–२ बाट ४०५० ट्रामाडोल ट्याब्लेट, ४०० ग्राम गाँजा र नगद रु. २०,४७० सहित रमेश राई, रोहित कार्की र सैगात कार्की पक्राउ परेका छन्।
मकवानपुरमा दुई फरक कारबाही
रातोमाटे क्षेत्रबाट दुईजनालाई पक्राउ गरिएको छ —
-
अनिता श्रेष्ठ (३६): १४.७६ ग्राम हेरोइनसहित,
-
अशोक तामाङ (२२): ५५ ट्याब्लेट ट्रामाडोलसहित पक्राउ।
बर्दियामा सुर्खेतका युवक पक्राउ
कण्ठपुर, बढैयाताल गाउँपालिकाबाट १.३९ ग्राम ब्राउनसुगर सहित ३९ वर्षीय डिल्ली नारायण गौतम पक्राउ परेका छन्।
कैलालीमा ठूलो परिमाणको हेरोइन बरामद
धनगढी–११ का धनि राम राना (२७) को घर तलासी गर्दा १४.९२ ग्राम हेरोइनजस्तो पदार्थ फेला परेको छ।
कञ्चनपुरमा दुई छुट्टाछुट्टै कारबाही
-
बिबेक चौधरी (२७): ८६० मिलिग्राम हेरोइनसहित बेलौरीबाट पक्राउ।
-
समिर राना (२०) र दुई साथीहरू: राजघाटबाट २.८५ ग्राम हेरोइनसहित पक्राउ।
प्रहरीको भनाइ
“देशभर लागूऔषध नियन्त्रण अभियानलाई अझ सशक्त बनाइएको छ,” प्रहरीका एक उच्च अधिकारीले बताए। उनका अनुसार, पछिल्ला सात दिनमै लागूऔषध कारोबारमा संलग्न १६ जना पक्राउ परेका छन् र थप अनुसन्धान जारी छ।



प्रतिकृया दिनुहोस्