जापान, कम्बोडिया र यूएई पठाइदिन्छु भन्दै १८ लाख ठगी, तीन जना पक्राउ
काठमाडौं, ३१ भदौ । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तेह्रथुम घर भई टोखा नगरपालिका–५ बस्ने ३५ वर्षीय नगेन्द्र भेटवाल, बर्दिया घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ४४ वर्षीय समुन्द्रबहादुर थापा र पाँचथर घर भई कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ४४ वर्षीय कुमार खतिवडा रहेका छन्।
प्रहरीका अनुसार नगेन्द्रले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट १० लाख रुपैयाँ, समुन्द्रले कम्बोडिया पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँर कुमारले यूएई पठाइदिन्छु भन्दै १ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले नगेन्द्रलाई सोमबार टोखा–५ बाट तथा समुन्द्रलाई कागेश्वरी मनोहरा–९ र कुमारलाई कागेश्वरी मनोहरा–७ बाट मंगलबार पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
आकर्षक तलब र विदेश पठाइदिने प्रलोभनमा रकम बुझाउनुअघि वैदेशिक रोजगारसम्बन्धी विवरण तथा म्यानपावरको वैधता अनिवार्य रूपमा जाँच गर्न प्रहरीले आग्रह गरेको छ।



प्रतिकृया दिनुहोस्