संगठित अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न प्रहरी महानिरीक्षक कार्की थाइल्याण्ड प्रस्थान

संगठित अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न प्रहरी महानिरीक्षक कार्की थाइल्याण्ड प्रस्थान

काठमाडौं, साउन। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधविरुद्ध क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले थाइल्याण्डको बैंककमा आयोजना हुने ‘द रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउन्ड्स एन्ड ट्रान्सनेसनल अर्गनाइज्ड क्राइम’ मा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ।

साउन ४ र ५ गते सञ्चालन हुने उक्त शिखर सम्मेलन Federal Bureau of Investigation (FBI)Royal Thai Police को संयुक्त आयोजनामा हुँदैछ। सम्मेलनमा प्रहरी महानिरीक्षक कार्कीसँगै नेपाल प्रहरीका प्रहरी उपरीक्षक धर्मराज भण्डारी पनि सहभागी हुनुहुनेछ।

सम्मेलनमा सीमापार हुने संगठित अपराध, अनलाइन ठगी, मानव बेचबिखनलगायत चुनौतीहरूको प्रभावकारी नियन्त्रणका लागि क्षेत्रीय रणनीति, सूचना आदान–प्रदान, संयुक्त अनुसन्धान तथा अन्तर्राष्ट्रिय समन्वयका विषयमा विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।

प्रहरी महानिरीक्षक कार्कीलाई प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतहरूले सफल सहभागिताको शुभकामना व्यक्त गर्दै बिदाइ गरेका थिए।

नेपाल प्रहरीका अनुसार यस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सक्रिय सहभागिताले आधुनिक अपराध नियन्त्रण, अन्तरदेशीय सहकार्यको विस्तार तथा संस्थागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी ले सम्हाल्नुहुनेछ।


(Photo: Nepal Police)