विदेश पठाइदिने भन्दै २४ लाखभन्दा बढी ठगी! काठमाडौंबाट तीन जना पक्राउ

विदेश पठाइदिने भन्दै २४ लाखभन्दा बढी ठगी! काठमाडौंबाट तीन जना पक्राउ

काठमाडौं, आकर्षक तलब र वैदेशिक रोजगारीको सपना देखाएर लाखौं रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले नुवाकोट घर भई काठमाडौं बस्दै आएका २६ वर्षीय बिशाल बानिया, २९ वर्षीय रिजन खङी तथा कैलाली घर भई ललितपुर बस्दै आएकी २३ वर्षीया प्रिन्सी शाहलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बिशालले मलेसिया पठाइदिने भन्दै एक जनाबाट १ लाख रुपैयाँ, रिजनले मलेसियामै रोजगारी मिलाइदिने प्रलोभनमा २ लाख ८५ हजार रुपैयाँ तथा प्रिन्सीले बेलारूस पठाइदिने भन्दै एक पीडितबाट २० लाख रुपैयाँ असुलेको आरोप छ।

रकम लिएपछि उनीहरू सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले उजुरी दिएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो। सोही क्रममा बिशाल र रिजनलाई काठमाडौं महानगरपालिका–१४ बाट तथा प्रिन्सीलाई ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।