अमेरिकाको अवसर त्यागेर मातृभूमिको सेवामा रामकुमार श्रेष्ठ
काठमाडौं। केही व्यक्तिहरू आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिमा सीमित राख्छन् भने केही व्यक्तिहरू समाजको परिवर्तनलाई नै आफ्नो जीवनको लक्ष्य बनाउँछन्। काठमाडौं महानगरपालिका–१७, खुसीबु निवासी वरिष्ठ समाजसेवी रामकुमार श्रेष्ठ त्यस्ता व्यक्तित्व हुन्, जसले विदेशमा सुख–सुविधायुक्त जीवन बिताउने अवसर हुँदाहुँदै पनि आफ्नै देशको सेवा रोजेका छन्।
ओखलढुंगा जिल्लाको रुम्जाटारमा जन्मिएका श्रेष्ठले नेपाल सरकारको जागिर छाडेर अमेरिकाको यात्रा गरेका थिए। सरकारी सेवामा रहँदा विभिन्न प्रशासनिक कठिनाइ र कार्यस्थलको वातावरणका कारण उनले विदेश जाने निर्णय गरेका थिए। अमेरिकामा पुग्नेदेखि कलेज भर्ना गराउनेसम्मको सम्पूर्ण सहयोग उनकी सानीआमाका छोरा महेश श्रेष्ठले गरेका थिए। तर केही महिनापछि उनले अध्ययनभन्दा श्रमलाई प्राथमिकता दिए। अमेरिकाका विभिन्न रेस्टुरेन्टमा व्यवस्थापक (Manager) का रूपमा दैनिक १७–१८ घण्टासम्म कठिन परिश्रम गर्दै उनले करिब १२ वर्ष बिताए।
विदेशमा पुनः स्थायी रूपमा बस्ने अवसर, पुनः प्रवेश (Re-entry) अनुमति तथा जापान जाने सम्भावना हुँदाहुँदै पनि श्रेष्ठले ती सबै अवसर त्यागे। उनको भनाइ थियो— “पैसा फेरि कमाउन सकिन्छ, तर आफ्नो देशको माया र समाजप्रतिको दायित्व छोड्न सकिँदैन।”
नेपाल फर्किएपछि उनले समाज सेवालाई आफ्नो जीवनको मूल अभियान बनाए।
२०७२ सालको विनाशकारी भूकम्पपछि आफ्नै घरअगाडिको खुला स्थानमा आश्रय लिएका सयौँ पीडितका लागि उनले आफ्नै घरबाट १५ बोरा चामल उपलब्ध गराई करिब ५०० जनालाई भोजन गराएका थिए। कठिन समयमा गरेको यो सहयोग आज पनि स्थानीयले सम्मानपूर्वक सम्झने गरेका छन्।
नेपाल फर्किएपछि बिहान–बेलुकाको हिँडाइका क्रममा विष्णुमती करिडोर क्षेत्रमा महिला, ज्येष्ठ नागरिक तथा सर्वसाधारण चोरी, लुटपाट र असुरक्षाको शिकार भइरहेको देखेपछि उनले सुरक्षा सुधारको अभियान सुरु गरे। तत्कालीन प्रदेश सरकारका नेतृत्वसँग पहल गरी सुरुमा १८ वटा सीसी क्यामेरा जडान गराए। त्यसपछि आफ्नै व्यक्तिगत खर्च, अमेरिकामा रहेका आफन्त तथा साथीहरूको सहयोग र स्थानीयको सहभागितामा हाल ४१ वटा सीसी क्यामेरा सञ्चालनमा ल्याउन सफल भएका छन्। सीसी क्यामेराको मासिक ब्याकअप प्रणाली विस्तार गर्न अमेरिकाबाट महेश श्रेष्ठले सहयोगस्वरूप करिब ५०० अमेरिकी डलर बराबरको उपकरण पठाएका थिए। त्यस्तै अमेरिकामा सँगै काम गरेका साथी प्रकाशनाथले समेत थप क्यामेरा उपलब्ध गराएर अभियानलाई साथ दिएका थिए। आज पनि ती क्यामेराको मर्मतसम्भारमा उनले वार्षिक करिब ६०–६५ हजार रुपैयाँ आफ्नै खर्च गर्दै आएका छन्।
श्रेष्ठले काठमाडौं महानगरपालिका–१६ र १७ मा मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तार, सडक कालोपत्रे तथा प्रत्येक कित्तामा भविष्यमा सडक नबिग्रिने गरी संरचना निर्माण गर्न निरन्तर पहल गरेका थिए।
मेलम्ची आयोजनाले उनलाई ३५ वटा धारा जक्सन व्यवस्थापनको जिम्मेवारी समेत दिएको थियो। स्थानीय अवरोधका बीच उनले प्रहरीसँग समन्वय, कामदारको बसोबास तथा खानपानको व्यवस्था मिलाउँदै आयोजना सफल बनाउन महत्वपूर्ण सहजीकरण गरेका थिए।
रामकुमार श्रेष्ठको नेतृत्वमा विष्णुमती करिडोर तथा स्वयम्भू क्षेत्र वरिपरि हजारौँ बिरुवा रोपिएका छन्। उनले एभोकाडो, किम्बु, केरा, आँप, जामुन, आँवला लगायतका फलफूलका बिरुवा र विभिन्न फूल तथा वनस्पति रोपेर हरियाली अभियान सञ्चालन गरेका छन्।
यसका साथै उनले स्थानीय स्तरमा—
खेलमैदान निर्माण,
सार्वजनिक शौचालय,
सडक मार्किङ,
डस्टबिन व्यवस्थापन,
व्यायामशाला तथा खेल सामग्री,
बाढीका बेला नाला सफाइ,
शान्ति र सुरक्षा व्यवस्थापन
जस्ता अभियानमा निरन्तर नेतृत्व गर्दै आएका छन्।
सुरुवाती दिनमा परिवारले समाज सेवामा अत्यधिक समय र खर्च गरेकोमा चिन्ता व्यक्त गरे पनि अहिले उनकी धर्मपत्नी रोशी श्रेष्ठ लगायत सम्पूर्ण परिवारले उनको सेवाभावप्रति गर्व गर्ने गरेको उनि बताउछन् ।
श्रेष्ठका दुई छोरी छन्। जेठी श्वेता श्रेष्ठको विवाह भइसकेको छ र हाल उनी आफ्ना श्रीमान्सँग अष्ट्रेलियामा बसोबास गर्छिन्। कान्छी सुब्रता श्रेष्ठ अध्ययनरत छिन्।
स्वर्गीय पिता पदम श्रेष्ठ तत्कालीन नेकपा (एमाले) ओखलढुंगा जिल्ला कमिटीका सदस्य रहे पनि रामकुमार श्रेष्ठ आफूलाई कुनै राजनीतिक दलमा आबद्धभन्दा पनि स्वतन्त्र समाजसेवीका रूपमा चिनाउन रुचाउँछन्। उनका अनुसार समाज सेवा कुनै दलको सीमाभित्र होइन, सम्पूर्ण नागरिकका लागि हुनुपर्छ।
हाल उनी बाल उद्यान सामुदायिक सेवा समितिका अध्यक्ष समेत रहेका छन्।
आगामी स्थानीय तह निर्वाचनमा जनताको चाहना र समर्थन भए काठमाडौं महानगरपालिका–१७ बाट जनप्रतिनिधिको रूपमा उम्मेदवारी दिने उनको सोच रहेको छ।
उनको विश्वास छ— “जनप्रतिनिधि बनेर मात्र होइन, नागरिक भएर पनि धेरै काम गर्न सकिन्छ। तर जिम्मेवारी पाए अझ व्यवस्थित रूपमा समाज र देशको सेवा गर्न सकिन्छ।”
उनको मूल नारा छ—
“हरियाली बनाऔँ, वातावरण जोगाऔँ।”
साथै, काठमाडौं महानगरपालिकाका सबै वडासँग सहकार्य गर्दै व्यवस्थित, सुरक्षित, स्वच्छ र हराभरा राजधानी निर्माण गर्ने उनको दीर्घकालीन सपना रहेको छ।
विदेशमा सुख–सुविधाको जीवन त्यागेर आफ्नो माटो, समाज र नागरिकको सेवामा समर्पित रामकुमार श्रेष्ठको जीवनयात्राले देशप्रेम, सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ। उनका अनुसार, “मरेर लैजाने केही छैन, सकेसम्म बाँचुन्जेल समाजका लागि केही गरेर जानुपर्छ।”



प्रतिकृया दिनुहोस्