श्रीगलेश्वर आश्रममा ऐतिहासिक क्षण : श्रीगुरुनिवास भवनको भव्य शिलान्यास सम्पन्न
चितवन, फाल्गुन २४ – श्रीगलेश्वर आश्रम परिसर आज वैदिक मन्त्रध्वनि, हवनको सुगन्ध र भक्तजनको उल्लासले गुन्जायमान बन्यो, जब श्रीगुरुनिवास भवन निर्माणार्थ भव्य शिलान्यास कार्यक्रम गरिमामय रूपमा सम्पन्न भयो। कार्यक्रम परमपूज्य स्वामी श्री आत्मानन्द गिरि महाराजको पावन समुपस्थितिमा सम्पन्न भएको हो।
वैदिक सनातन परम्पराको उज्यालो सन्देश
वैदिक सनातन संस्कृतिमा वर्णित चतुर्विध पुरुषार्थ — धर्म, अर्थ, काम र मोक्ष — मानव जीवनका शाश्वत आधारस्तम्भ हुन्। शास्त्रअनुसार मानव जीवन शतवर्षीय अवसर हो, जहाँ यस जीवनमा गरिने शुभ–अशुभ कर्म नै आगामी जीवनको आधारशिला बन्छ।
यदि ऐहिक सुख, शान्ति, आनन्द, सेवा, तप, प्रेम, सौभाग्य, समृद्धि र यशको अभीप्सा छ भने तिनको अभ्यास यही जीवनमा अनिवार्य छ। त्रिविध पुरुषार्थको संसिद्धि विना मोक्षमार्ग पनि प्रशस्त हुँदैन भन्ने सनातन सत्यलाई यस समारोहले पुनः स्मरण गरायो।
४० लाखको उदार दान — राष्ट्रसेवामा ऐतिहासिक योगदान
आश्रम समितिका सम्मानित सदस्य तथा नेपालका भूतपूर्व महान्यायाधिवक्ता सुशील कुमार पन्त ज्यूले सपरिवार आश्रमको बहुआयामिक सेवाप्रकल्पलाई आत्मसात गर्दै रु. ४०,००,००० (चालिस लाख रुपैयाँ) दान अर्पण गर्नुभएको छ।
उहाँको यो योगदान केवल भवन निर्माणका लागि मात्र नभई धर्म, शिक्षा, संस्कार र राष्ट्रसेवाको दीर्घकालीन अभियानमा महत्वपूर्ण आधारशिला बन्ने विश्वास व्यक्त गरिएको छ।
वैदिक विधिअनुसार शिलान्यास पूजन सम्पन्न
शिलान्यास पूजन कर्म श्रीवेद वेदाङ्ग संस्कृत विद्यापीठ का सह–प्राचार्य रवि रिमाल ज्यूद्वारा वैदिक विधिअनुसार सम्पन्न गरिएको थियो।
कार्यक्रमका यजमान पनि श्रीमान् सुशील कुमार पन्त ज्यू नै रहनुभएको थियो।
आध्यात्मिक जागरण र सामाजिक रूपान्तरणतर्फ नयाँ पाइला
श्रीगुरुनिवास भवन निर्माणसँगै आश्रमले धर्मप्रचार, वेदाध्ययन, संस्कार शिक्षा, साधना–तपस्या तथा राष्ट्रसेवाका विविध आयामलाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ।
यस ऐतिहासिक क्षणमा उपस्थित श्रद्धालुहरूले “धर्मो रक्षति रक्षितः” को उद्घोषसहित सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा ऐक्यबद्धता व्यक्त गरेका थिए।
धर्म, सेवा र समर्पणको यस पुण्यमय कार्यमा सहभागी सम्पूर्ण साधक, दाता र श्रद्धालुजनलाई हार्दिक बधाई तथा शुभकामना।
( फोटो/समाचार स्रोत : डा स्वामी आमृतानन्द गिरी)



प्रतिकृया दिनुहोस्