एमाले महाधिवेशनमा ‘निर्णायक मोड’ : बन्दसत्रअघि केन्द्रीय कमिटी बैठक
काठमाडौं, मंसिर २८ ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अब निर्णायक चरणमा प्रवेश गरेको छ। बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने भएपछि पार्टीभित्रको राजनीतिक सरगर्मी चरम उत्कर्षमा पुगेको छ।
केन्द्रीय कमिटी बैठक सकिनासाथ भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु हुनेछ। बन्दसत्रले समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णय गर्दै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।
यसअघि शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको मैदानमा महाधिवेशनको भव्य उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा देशभरबाट आएका एमाले नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो, जसले महाधिवेशनलाई ऐतिहासिक बनाएको छ।
बन्दसत्रमा निर्वाचित, मनोनीत र आयोजक प्रतिनिधिहरू मात्र सहभागी हुनेछन्। महाधिवेशनबाट
➡️ १ अध्यक्ष
➡️ ३ उपाध्यक्ष
➡️ १ महासचिव
➡️ ३ उपमहासचिव
➡️ ७ सचिव
सहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ।
नेतृत्व चयनका लागि सहमतिमा जोड दिइएको एमालेले जनाएको छ। तर सहमति जुट्न नसके लोकतान्त्रिक अभ्यासअनुसार मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुने स्पष्ट संकेत दिइएको छ।
अब सबैको चासो एउटै प्रश्नमा केन्द्रित छ— सहमति कि मतदान? एमालेको आगामी नेतृत्व कसको हातमा?
भृकुटीमण्डपबाट आउने निर्णयले देशको राजनीतिमा ठूलो तरंग ल्याउने निश्चित देखिन्छ।



प्रतिकृया दिनुहोस्