उद्घाटनअघि नै सल्लाघारी खचाखच! एमाले महाधिवेशन स्थलमा जनसागर

उद्घाटनअघि नै सल्लाघारी खचाखच! एमाले महाधिवेशन स्थलमा जनसागर

काठमाडौं, मंसिर २७ — नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा सुरु हुन बाँकी रहँदै भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदान प्रतिनिधि, नेता र कार्यकर्ताले भरिन थालेको छ। बिहानैदेखि महाधिवेशन स्थलमा पुग्नेहरूको भीड बढ्दो छ।

देशका विभिन्न भूगोलबाट आएका प्रतिनिधिहरू झण्डा–ब्यानरसहितका र्‍याली लिएर महाधिवेशन स्थलतर्फ अगाडि बढिरहेका छन्। जग्गा नपाइने डरले गर्दा धेरै प्रतिनिधि उद्घाटन समारोह सुरु हुनु अगावै स्थलमा पुगेका छन्। यसले सल्लाघारी क्षेत्रलाई बिहानैदेखि उत्साह, नाराबाजी र चहलपहलले भरिएको बनाएको छ।

नेतृत्वदेखि कार्यकर्तासम्म सल्लाघारीमा जुट्दै
पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहका नेताहरू पनि क्रमशः सल्लाघारी पुग्ने क्रम जारी छ। उद्घाटनअघि नै सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुतिसुरु भइसकेको छ, जसले महाधिवेशनको माहोललाई अझ उत्सवमय बनाएको छ।

कडा सुरक्षा व्यवस्था, बहुपक्षीय निगरानी
महाधिवेशन स्थलमा प्रवेश गर्नुअघि सहभागीहरूलाई कडा सुरक्षा जाँच गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ भने मेटल डिटेक्टर, बम डिटेक्टरलगायत अत्याधुनिक सुरक्षा उपकरण प्रयोगमा ल्याइएको छ।

एमालेको भविष्य तय गर्ने महाधिवेशन
नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्व चयनको निर्णायक मोडका रूपमा लिएको छ। उद्घाटनसँगै सुरु हुने महाधिवेशन गतिविधिले पार्टीको संगठनात्मक दिशा मात्र होइन, आगामी राष्ट्रिय राजनीतिमा पनि गहिरो प्रभाव पार्ने अपेक्षागरिएको छ।

सल्लाघारीमा देखिँदैछ एमालेको शक्ति, संगठन र राजनीतिक सन्देश!