जापान पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने ३२ वर्षीय मान बहादुर काठमाडौंबाट पक्राउ!

जापान पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने ३२ वर्षीय मान बहादुर काठमाडौंबाट पक्राउ!

काठमाडौं, वैदेशिक रोजगारीका नाममा जापान पठाइदिने र आकर्षक तलब दिलाउने झुटा प्रलोभन देखाएर लाखौँ रूपैयाँ ठगी गर्ने एक जना व्यक्ति प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका-१२ घर भई हाल काठमाडौं महानगरपालिका-३१ बस्ने ३२ वर्षीय मान बहादुर भण्डारी रहेका छन्।

भण्डारीले जापान पठाइदिन्छु भन्दै एक पीडितबाट ५ लाख ७७ हजार रूपैयाँ असुलेर लामो समयदेखि सम्पर्कविहीन भएका थिए। आफू ठगिएको महसुस गरेपछि पीडितले दिएको किटानी उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई काठमाडौं-३१ बाट बिहीबार नियन्त्रणमा लिएको हो।

पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा कडा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीको नाममा सर्वसाधारणलाई प्रलोभनमा पारी रकम ठग्ने गिरोह तथा व्यक्तिहरूमाथि प्रहरीले निगरानी अझ बढाएको छ।