एनआरएनएको १२औँ विश्व सम्मेलन सुरु

एनआरएनएको १२औँ विश्व सम्मेलन सुरु

काठमाडौं, फागुन ३० — गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंको सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल ले संयुक्त रूपमा दीप प्रज्वलन गरेर अधिवेशन उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा मन्त्री शर्माले प्रवासमा रहेका नेपालीको अनुभव, सीप र अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास र रूपान्तरणका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए। उनका अनुसार एनआरएनएको सक्रियताले औद्योगिक विकास, रोजगारी सिर्जना र ज्ञान–पुँजीको प्रवाह बढाउन सहयोग पुग्नेछ।

सरकारले गैरआवासीय नेपाली ऐन २०६४ लगायत आवश्यक कानुन सुधारका लागि अन्तर निकाय समन्वय भइरहेको जानकारी दिँदै प्रवासी नेपालीलाई लगानी र विकासका साझेदारका रूपमा अघि बढाउने नीति लिइएको उनले बताए।

कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो ले संस्थाभित्रको एकता कायम हुनु सकारात्मक उपलब्धि भएको भन्दै “नेपालका लागि नेपाली” अभियानलाई अझ सशक्त बनाउने आह्वान गरे। उनले प्रवासी नेपालीको लगानी, ज्ञान र सीपले देशको समृद्धिमा ठूलो योगदान दिन सक्ने बताए।

कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठ ले संघभित्रको विवाद अन्त्य हुँदै एकता स्थापित भएको उल्लेख गर्दै अब विश्वभरका ८० लाख नेपालीलाई जोड्ने अभियान अघि बढाइने बताए।

पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, रबिना थापा, आरके शर्मा, विनोद कुँवर लगायतले पनि एनआरएनएको एकताले प्रवासी नेपालीको योगदानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा मध्यपूर्व क्षेत्रमा देखिएको संकटका बीच विदेशमा रहेका नेपालीको सुरक्षाप्रति सरकार सचेत रहेको पनि मन्त्री शर्माले स्पष्ट पारे। विदेशस्थित नेपाली नियोगमार्फत आवश्यक सहयोग र आपतकालीन समन्वय भइरहेको उनले बताए।

सम्मेलनले एनआरएनएको भावी दिशा, प्रवासी नेपालीको लगानी, नागरिकता, श्रमिक हित तथा संगठनात्मक सुधारका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।


News Photo Source : NonResident Nepali Association
NRNA