म्यानमारमा आम निर्वाचन – अन्तिम चरणको मतदान जारी
याङ्गुन। म्यानमारमा आम निर्वाचनको तेस्रो तथा अन्तिम चरणको मतदान आइतबार सुरु भएको छ। राजधानी याङ्गुन र मन्डलेसहित ६० टाउनशिपमा बिहान ६ बजेदेखि मतदान जारी छ। तर यो निर्वाचन लोकतन्त्रको उत्सवभन्दा बढी विवाद र प्रश्नले घेरिएको छ।
सन् २०२१ को सैन्य ‘कु’पछि देश लगातार गृहयुद्ध, राजनीतिक दमन र मानवअधिकार उल्लंघनमा फसिरहेको छ। यही पृष्ठभूमिमा गरिएको निर्वाचनलाई आलोचकहरूले “सैन्य शासनलाई वैधता दिन गरिएको नाटक” भनेर टिप्पणी गरिरहेका छन्।
कु पछिको हिंसामा हजारौँ नागरिकको ज्यान गएको छ भने ३५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। पूर्व नेतृ आङ सान सुकी अझै हिरासतमा छिन्। उनको दल नेसनल लिग फर डेमोक्रेसी (NLD)सहित अधिकांश विपक्षी दलहरू विघटन गरिएकाले राजनीतिक मैदान पूर्ण रूपमा सैन्य समर्थित दलको कब्जामा पुगेको छ।
निर्वाचन आयोगका अनुसार सैन्य समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (USDP) ले तल्लो सदनका २०९ मध्ये १९३ र माथिल्लो सदनका ७८ मध्ये ५२ सिट जितिसकेको छ। संविधानअनुसार सेनालाई आरक्षित १६६ सिटसमेत जोड्दा, उनीहरूले सरकार गठनका लागि आवश्यक सिट संख्या सजिलै पार गरिसकेका छन्।
अन्य १७ दलले भने एकदेखि १० सिटसम्म मात्रै जित्न सकेका छन्—जसले निर्वाचनको प्रतिस्पर्धात्मकता माथि गम्भीर प्रश्न उठाएको छ।
हालका सैन्य शासक तथा कार्यवाहक राष्ट्रपति वरिष्ठ जनरल मिन आङ ह्लाइङ नयाँ संसद् गठनपछि राष्ट्रपतिको भूमिकामा जाने अपेक्षा गरिएको छ। सैन्य प्रशासनका अनुसार संसद् मार्चमा बोलाइनेछ र नयाँ सरकारले अप्रिलबाट काम सुरु गर्नेछ।
तर प्रश्न उही छ—
गोलीको छायामा भएको मतदानले म्यानमारमा शान्ति ल्याउँछ, कि सैन्य शासनलाई थप बलियो बनाउँछ?



प्रतिकृया दिनुहोस्