६ महिनामै ५ खर्ब ८१ अर्ब राजश्व संकलन, पुसमा सरकारको प्रदर्शन उत्साहजनक
काठमाडौँ
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार यो पुससम्मको लक्ष्यको ८१.७५ प्रतिशत हो।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ। सोअनुसार पुससम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ उठाउने लक्ष्य भए पनि करिब १ खर्ब २९ अर्ब रुपैयाँ कम संकलन भएको छ।
तर पुस महिनामा भने राजश्व संकलन उत्साहजनक देखिएको अर्थ मन्त्रालयले जनाएको छ। पुसका लागि १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँलक्ष्य राखिएकोमा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको हो, जुन लक्ष्यको ८९.९६ प्रतिशत हो।
अझ रोचक तथ्य के छ भने, पुस ३० गते एकै दिन २० अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन भएको मन्त्रालयको विवरणमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा पुस महिनामा १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजश्व उठेको थियो। यस आधारमा चालु वर्षको पुस महिनाको संकलनमा सुधार देखिएको अधिकारीहरू बताउँछन्।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार प्रारम्भिक त्रैमासमा केही चुनौती देखिए पनि पछिल्ला महिनामा राजश्व संकलन सकारात्मक दिशामा अघि बढेको छ।
“पहिलो त्रैमासमा केही अप्ठ्यारा आए, तर पछिल्ला दिनमा राजश्व संकलन उत्साहजनक छ। आगामी दिनमा लक्ष्यअनुसार राजश्व उठ्ने सम्भावना देखिन्छ,” पाण्डेयले भने।
राजश्व चुहावट नियन्त्रण गर्दै बाँकी महिनामा संकलनलाई थप तीव्र बनाउने गरी अर्थ मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको जनाएको छ।


प्रतिकृया दिनुहोस्