जेनजी आन्दोलनका घाइते पत्रकारलाई सरकारको सम्मान
नगद, आश्वासन र कडा सन्देश: “पत्रकारको उपचार खर्च राज्यले नै बेहोर्छ” – मन्त्री खरेल
काठमाडौँ, ४ पुस ।
जेनजी आन्दोलनको अग्रपङ्क्तिमा सत्य उजागर गर्दै घाइते भएका पत्रकारहरूलाई सरकारले नगदसहित विशेष सम्मान गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आन्दोलनको प्रत्यक्ष रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारहरूको साहस र योगदानको उच्च कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरेको हो।
शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चार जना घाइते पत्रकारलाई नगदसहित सम्मान गर्नुभयो। स्वतन्त्र पत्रकार शम्भु दाहाललाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ भने
श्याम श्रेष्ठ (कान्तिपुर टेलिभिजन)
उमेश कार्की (नेपाल प्रेस)
दीपेन्द्र ढुङ्गाना (नयाँ पत्रिका)
लाई जनही २५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ।
“जोखिम मोलेर सत्य लेख्ने पत्रकार राज्यका गहना हुन्”
सम्मान कार्यक्रममा मन्त्री खरेलले देश र जनताको पक्षमा जोखिम उठाएर काम गर्ने पत्रकारको योगदान अमूल्य भएको बताउँदै भन्नुभयो,
“राज्यले तपाईंहरूको उपचार खर्च बेहोर्छ, बेहोर्नैपर्छ। यत्रो देशको खर्च व्यहोर्ने सरकारले आफ्ना पत्रकारको किन व्यहोर्दैन?”
उहाँले आन्दोलन, प्रदर्शन तथा संवेदनशील परिस्थितिमा खटिने पत्रकारहरूको सुरक्षाका लागि सरकार, आन्दोलनरत पक्ष, आयोजक र सञ्चार गृह सबै जिम्मेवार हुनुपर्ने स्पष्ट सन्देश दिनुभयो।
जेनजी आन्दोलनले सञ्चार क्षेत्रमा ७८ करोड क्षति
मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा सञ्चार क्षेत्रमा करिब ७८ करोड रुपैयाँ बराबरको क्षति भएको खुलासा गर्दै त्यसको पुनःस्थापनाबारे आफू गम्भीर रूपमा चिन्तित रहेको बताउनुभयो।
पत्रकारका लागि सामाजिक सुरक्षा अभियान
सरकारले गोरखापत्र संस्थानका पत्रकारलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराइसकेको र अब छिट्टै
रेडियो नेपाल
नेपाल टेलिभिजन
रासस
लगायतका निकायका पत्रकारलाई पनि सो योजनामा समेट्ने जानकारी मन्त्री खरेलले दिनुभयो।
निजी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई समेत सामाजिक सुरक्षामा ल्याउन नेपाल पत्रकार महासङ्घलाई विशेष अभियान चलाउन आग्रह गर्दै घाइते तथा बेरोजगार पत्रकारको रोजगारी सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
पत्रकारहरूको आवाज: “नीति चाहियो, कोष चाहियो”
सम्मानित पत्रकार शम्भु दाहालले पत्रकार सुरक्षाका लागि स्पष्ट नीति, पत्रकार सुरक्षा कोष र सामाजिक सुरक्षा अनिवार्य हुनुपर्ने माग गर्नुभयो।
त्यस्तै दीपेन्द्र ढुङ्गानाले घाइते पत्रकारको उपचार खर्च तत्काल उपलब्ध गराउने व्यवस्था र भविष्यमा अग्रपङ्क्तिमा खटिने पत्रकारको सुरक्षाका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा व्यापक उपस्थिति
कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्याल, उच्च पदाधिकारीहरू, नेपाल पत्रकार महासङ्घका पदाधिकारी तथा सञ्चार क्षेत्रका विभिन्न निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
Photo : CB Adhikari



प्रतिकृया दिनुहोस्