कविता_मरूभूमि र वसन्त : शुचिता काफ्ले
मरूभूमि र वसन्त :
ऋतुको राजा तिमी वसन्त !
आउ प्रिय
तिमी र म नाता जोडौं
तिम्रो मेरो बिछोडले तड्पिएको
एउटा सिङ्गो ग्रन्थमा
इतिहास कोरौं
जहा युगौ युग सम्म तिम्रो सहारामा
म पनि हरियाली बनेर
मानिसको मन लोभ्याउने
सुन्दरताको छटा भित्र एक अनुपम
वरदान बनेर बाँच्न सकुँ … ,,
तर तिम्रो सहारामा केवल
प्रिय वसन्त ! सम्वन्ध तिम्रो र
मेरो मात्र होइन , बुझ्न सके
माटो र ढुंगाको पनि छ ।
त्यस्तै पानी र डुंगाको पनि छ
ईश्वरिय जञ्जीरले समस्तलाई
एक शुत्रमा बाँधेको छ ।
आ_आफ्ना भेषभुषा
शैली नियम आनी बानी र ढंगलाई
भेदभाव नगरी
अचार जसरी साँधेको छ ।
कहिल्यै नखस्ने गरी मन मस्तिष्कमा,
जोडेर एकतामा सिंगो ढिको बनाई
समान रूपमा आत्मियता
देखाएको छ र दुर दराज सम्म पनि
सामिप्यता झल्काएको छ
न उसले आफूलाई मरूभूमि
ठान्न सक्छ ,न त उसले
अरूलाई पराई मान्न सक्छ
परापूर्व देखिनै भासिएर छियाछिया
भई नासिएर अस्तित्व मासिएर
सकिनै लाग्दा पनि
कठै म मरूभूमि
यत्रतत्र अवस्थामा आफूलाई
समालेर अरूलाई खुशी दिन
पछि नपरी पल पल जुर्मुराउँदै
अविरल ,खडेरी सँग दोस्ती गर्दै
एकापसमा
छातीभित्र भाईचारा टाँसेको छ
नदि र बगरले जस्तै अटुट
नाता गाँसेको छ ।
आकाश र धर्ति जसरी
परिपुरक बन्दै जुनले रातमा र
मिर्मिरे विहानीमा
सुर्योदयले हृदय खोलेर
हाँसे जसरी
हिमालको ठोस र हिउँको
तरलतामा हर्षित बन्ने सपनाको
खोजीमा एक त्यान्द्रो
खुशीको अभाव बोकेर यो बञ्जर
मरूभूमिले आज नङ र मासुको
जस्तै अपनत्वको पर्खाइमा
अटल अमर
स्वाभिमान साँचेको छ ।



प्रतिकृया दिनुहोस्