नेपालका प्रकाशराज पाण्डेद्वारा ओसिनियाको सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ सफल आरोहण
काठमाडौं, भदौ १। विश्वका सात महादेशका अग्ला हिमाल आरोहण गर्ने ‘सेभेन समिट’ अभियानमा संलग्न रहनु भएका नेपाली पर्वतारोही, रामेछापका प्रकाशराज पाण्डेले ओसिनिया क्षेत्रमा पर्ने इण्डोनेसियाको सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ (पुञ्जाक जाया) सफलतापूर्वक आरोहण गर्नुभएको छ ।
उहाँले स्थानीय समयअनुसार आइतबार बिहान ९ः३० बजे शिखर आरोहण गर्नुभएको हो । सफल आरोहणपछि केही समयअघि मात्र बेसक्याम्पमा आइपुग्नुभएका पाण्डेले आज र भोलि सोही बेसक्याम्पमै रहने जानकारी दिनुभएको छ ।
पर्वत आरोहणको तयारीका लागि पाण्डे सोमबार काठमाडौँबाट प्रस्थान गर्नुभएको थियो । मलेसिया हुँदै इण्डोनेसियाको राजधानी जकार्तामा पुग्नुभएका उहाँ अगस्ट १४ मा हेलिकप्टरमार्फत ४ हजार ३ सय मिटर उचाइमा रहेको येलो भ्याली बेसक्याम्प पुगेका थिए । त्यहाँ पुगेर आवश्यक तालिम र अनुकूलन पूरा गरेपछि अगस्ट १६ मा पूर्ण प्राविधिक आरोहण सुरु गरी आज बिहान शिखरमा सफलतापूर्वक पुग्नुभएको हो ।
४ हजार ८ सय ८४ मिटर अग्लो कास्ट्रेन्स्ज पिरामिड चुनढुङ्गाले बनेको, पिरामिड आकारको र निक्कै जोखिमपूर्ण मानिने हिमाल हो । यो इण्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित छ र विश्वका सातवटै महादेशका उच्च शिखरमध्ये एक भएकाले आरोहीका लागि ठूलो चुनौती मानिन्छ ।
पाण्डेले यस आरोहणपछि क्रमशः उत्तर अमेरिकाको उच्च शिखर माउन्ट डेनाली, अन्टार्टिकाको उच्च शिखर भिन्सन मासिफ आरोहण गर्ने योजना बनाउनु भएको छ । अन्ततः नेपालमै फर्केर पुनः सगरमाथामा राष्ट्रिय झण्डा फहराउने उहाँको लक्ष्य रहेको छ । मकालु आउटफिटको सहकार्यमा सञ्चालित यस अभियानलाई विभिन्न पालिका, संघ–संस्था तथा व्यावसायिक प्रतिष्ठानहरूले आर्थिक सहयोग तथा सामग्रीगत सहयोग उपलब्ध गराएका थिए ।
इण्डोनेसियापछि पाण्डेको अर्को लक्ष्य अमेरिकी महादेशको उच्च शिखर माउन्ट डेनाली आरोहण गर्ने रहेको छ । यसअघि गएकाे आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै उहाँलाई सफल आरोहणका लागि शुभकामना दिनुभएको थियो ।
रामेछापको लिखुतामाकोशी गाउँपालिका–७ का स्थायी बासिन्दा पाण्डेले यसअघि नै सगरमाथा, मनास्लु, आमादब्लमसहित नेपालका दर्जनौँ हिमाल आरोहण गरिसक्नुभएको छ । ‘सेभेन समिट’ अभियानअन्तर्गत उहाँले गत जुन महिनामा युरोपको माउण्ट एलब्रस, नोभेम्बरमा अफ्रिकाको किलिमन्जारो र यसै वर्ष फेब्रुअरीमा दक्षिण अमेरिकाको अकोन्कागुआ आरोहण गर्नुभएको थियो ।
सन् २०१६ देखि आरोहण यात्रा सुरु गर्नुभएका पाण्डेले सन् २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्नुभएको हो । हाल उहाँ ‘सेभेन समिट’ अभियानमार्फत जलवायु परिवर्तनका मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठाउँदै निरन्तर अभियान सञ्चालन गर्दै आउनुभएको छ ।
Source ✍🏻📸 : Nabaraj Pathik



प्रतिकृया दिनुहोस्