वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ५ जना पक्राउ, थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइयो

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ५ जना पक्राउ, थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइयो

 

काठमाडौँ, आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१० बस्ने अर्घाखाँची घर भएकी ३१ वर्षीया मनिषा सुनार, ३४ वर्षीय ठाकुर बहादुर सुनार, काठमाडौँ तारकेश्वर महानगरपालिका–१६ बस्ने पाल्पा घर भएका ४९ वर्षीय खोप बहादुर शाही, भक्तपुर सूर्यविनायक नगरपालिका–७ बस्ने ४९ वर्षीय दिपेन्द्र खत्री र स्याङ्जा घर भएकी ४८ वर्षीया सिता लुईटेल रहेका छन्।

पक्राउ परेकामध्ये मनिषा र ठाकुर बहादुरले बेलायत पठाइदिन्छु भन्दै एक जना पीडितबाट १२ लाख रूपैयाँ, खोप बहादुरले रोमानिया पठाइदिन्छु भन्दै दुई लाख रूपैयाँ, दिपेन्द्रले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै तीन लाख ५० हजार रूपैयाँ र सिताले पोर्चुगल पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले मनिषा र ठाकुर बहादुरलाई काठमाडौँ महानगरपालिका–९ बाट शनिबार, खोप बहादुरलाई तारकेश्वरबाट आइतबार तथा दिपेन्द्र र सितालाई काठमाडौँ महानगरपालिका–१२ बाट सोमबार पक्राउ गरेको हो।

पक्राउ परेका सबै अभियुक्तहरूलाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।