अमेरिका, क्रोएसिया र सर्बिया पठाइदिने भन्दै ठगी गर्ने आरोपमा तीन जना पक्राउ

अमेरिका, क्रोएसिया र सर्बिया पठाइदिने भन्दै ठगी गर्ने आरोपमा तीन जना पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीका नाममा अमेरिका, क्रोएसिया र सर्बिया पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–८ की ३६ वर्षीया दिलमाया गैरे, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ का २८ वर्षीय सन्देश ढुङ्गाना र कास्कीको रूपा गाउँपालिका–१ का ३० वर्षीय विशाल खवास राना रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार दिलमायाले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ७ लाख रुपैयाँ, सन्देशले क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट १६ लाख रुपैयाँ तथा विशालले सर्बिया पठाइदिने भन्दै एक जनाबाट २ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले दिलमायालाई काठमाडौं महानगरपालिका–१३, सन्देशलाई भक्तपुरको चाँगुनारायण नगरपालिका–७ र विशाललाई काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार दिलमायालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सन्देश ढुङ्गाना र विशाल खवास रानालाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

प्रहरीले वैदेशिक रोजगारीका लागि रकम बुझाउनुअघि सम्बन्धित कम्पनी र प्रक्रियाबारे आवश्यक जानकारी लिन तथा आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अघि बढाउन सर्वसाधारणलाई आग्रह गरेको छ।