“संसदको नयाँ अध्याय सुरु, २७४ सांसद बने संवैधानिक जिम्मेवार”

“संसदको नयाँ अध्याय सुरु, २७४ सांसद बने संवैधानिक जिम्मेवार”

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित २७४ सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद भवनमा आयोजित समारोहमा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ७८ वर्षीय अर्जुननरसिंह केसीले सबै सांसदलाई शपथ दिलाएका थिए।

शपथ ग्रहण समारोह यसअघि भन्दा फरक रह्यो। परम्परागत ठूला दलका नेताहरू गगन थापा, केपी ओली, राजेन्द्र लिङ्देन निर्वाचनमा पराजित भएकाले उपस्थित थिएनन्। सिट संख्या समेत धेरै घटेको हुँदा, पुराना दलको उपस्थिति सीमित देखियो।

सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको खुसीताली स्पष्ट देखिन्थ्यो। रास्वपा उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सांसदका रूपमा शासकीय सुधारमा इमानदार प्रयास गर्ने प्रतिबद्धता जनाए। सहमहामन्त्री विपिन आचार्य ले भने, “जनताले दिएको जिम्मेवारी गम्भीर रूपमा पूरा गर्ने प्रयास गर्छौँ।”

अन्य दलका सांसदहरूले फरक प्रतिक्रिया दिए। नेपाली कम्युनिस्ट पार्टी अध्यक्ष प्रचण्डले सरकारलाई सकारात्मक काममा सहयोग रहने बताए भने, राप्रपा सांसद ज्ञानबहादुर शाही ले विधिको शासन सुनिश्चित गर्न र रचनात्मक भूमिका खेल्न तयार रहेको बताए। कांग्रेस र एमालेका सांसदहरू प्रायः मौन देखिए।

सभा हलको दृश्य फरक: रास्वपाका सांसदहरू आधाभन्दा बढी रो ओगटेर बसेका थिए। कांग्रेस, एमाले र नेकपाका सांसदहरूलाई एउटै ‘रो’ मा राखिएको थियो। रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह अग्रभागमा बसेका थिए। उनका उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले पनि उनको नजिक देखिन्थे।

राजनीतिक वातावरण परिवर्तनशील देखिएको यस शपथ ग्रहण समारोहले आगामी सरकारमा रास्वपाको प्रभुत्व र नयाँ राजनीतिक शैलीस्पष्ट रूपमा संकेत गर्यो।